• ३१ जेठ २०८२, शनिबार

पूर्वाधारमा फड्को मार्दै कृषि र पशुजन्य उत्पादनमा आत्मनिर्भर

blog

परशुराम नगरपालिका–५, परीगाउँको सिँचाइ कुलो ।

पुष्कर भण्डारी

प्रदेश संरचना बनेपछि डडेलधुराले पूर्वाधारमा फड्को मारेको छ भने कृषि र पशुजन्य उत्पादनमा आत्मनिर्भरसमेत भएको छ । सङ्घीयताअघि त्यहाँ ८२ किमी मात्रै सडक कालोपत्रे थियो । अहिले पालिका जोड्ने मुख्य सडक धमाधम कालोपत्रे भइरहेका छन् । डडेलधुरामा हाल कालोपत्रे भएको सडकको लम्बाइ १६४ किमी पुगेको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख नवराज रावलले बताउनुभयो । यी सडकमा यस वर्षको रकम ६० करोड ५० लाख रुपियाँ रहेको छ ।

उग्रतारा–मेलौली सडकखण्डको २० किमी कालोपत्रे भइसकेको छ । यसै गरी बुडर–जोगबुडा–गाईबाँधेसम्म करिब ३५ किमी सडक कालोपत्रे भएको छ । गाईबाँधे–लिप्ना सडक कालोपत्रे गर्ने काम जारी छ । यस्तै बागबजार–बगरकोट–सिराड सडकखण्डमा सात किमी सडक कालोपत्रे भइसकेको छ । कालोपत्रे गर्ने काम पनि सञ्चालनमै छन् । प्रदेशको गौरवको सडक योजना दैजी–लिप्ना–गाईबाँधे–जोगबुडा–सलोन–चिर्किट्टे–आइत–कीर्तिपुर–पोखरा–बेलापुर–ढुङ्गाड–सडकखण्डको आइत–कीर्तिपुर सडक कालोपत्रे गर्ने काम भइरहेको छ । यसै सडकखण्डको सलोन–चिर्किट्टे घटाल खण्ड विस्तारको कामसमेत भइरहेको छ । 

यी सडकखण्ड कालोपत्रे र विस्तारका लागि २०७६ सालयता एक अर्ब ८४ करोड १३ लाख ३१ हजार रुपियाँभन्दा बढीको ठेक्का सम्झौता भइसकेको छ । यी सडकमध्ये बगरकोट–सिराड–रूपाल सडक–बिरादे–बगरकोट–सिराडखण्ड र कटाल परशुरामधाम धार्मिक पर्यटकीय सडक (कटाल–बहादुरे खण्ड) बहुवर्षे ठेक्का लागेका हुन् । उहाँका अनुसार चार करोड ४० लाख रकममा विभिन्न १२ वटा ग्रामीण सडक निर्माण भइरहेका छन् भने केही सडक निर्माण भइसकेका छन् । 

सडक कालोपत्रे विस्तारसँगै ग्रामीण सडक निर्माण, स्तरोन्नति, मोटरेबल पुल, झोलुङ्गे, ट्रस्टका पुल, सिँचाइ पोखरी, कुलो, तटबन्ध, खानेपानी, विद्यालय भवन, घेरबार, शौचालय, खेल मैदानलगायतका भौतिक पूर्वाधारका संरचना निर्माणसमेत भएका छन् । 

विद्यालय भवन र खेल मैदान 

चालु आर्थिक वर्षमा ३१ वटा सामुदायिक विद्यालयमा दुईकोठे भवन निर्माण भएका छन् । २५ लाख रुपियाँका दरले सामाजिक विकास कार्यालय डडेलधुरामार्फत विद्यालयमा दुईकोठे भवन निर्माण भएको सामाजिक विकास कार्यालयका प्रमुख राधाकृष्ण जोशीले बताउनुभयो । यस वर्ष सो कार्यालयसँग विद्यालय भवनसँगै खेलकुद मैदान, स्वास्थ्यका ६७ योजना पूर्वाधार निर्माण रहेका थिए । त्यसमा १० वटा खेल मैदान, १६ वटा विद्यालयमा आइसिटी निर्माणका थिए । एउटा विद्यालयमा पाँच लाखका दरले आइसिटी निर्माणका लागि बजेट थियो । गत वर्ष करिब पाँच करोड मात्रै बजेट रहेको सो कार्यालयमा यस वर्षको बजेट १५ करोड ७३ लाख रहेको छ । 

खेल मैदान निर्माणका लागि सबैभन्दा बढी ३५ लाख बजेट गन्यापधुरा गाउँपालिका–१, भातकाँडाको सरस्वती माविमा थियो । यस्तै जिल्ला खेलकुद विकास समितिको खेल मैदान निर्माणका लागि अमरगढी नगरपालिका–४ मा ३२ लाख, परशुराम नगरपालिका–१ को कैलपाल माविको खेल मैदान निर्माणका लागि २५ लाख, परशुराम नगरपालिका–२, बैसौटीमा रहेको सरस्वती माविको खेल मैदान निर्माण गर्न १० लाख, अमरगढी–५ मा ब्याडमिन्टन खेल मैदान निर्माण गर्न १० लाख, भागेश्वर गाउँपालिका–१ को कैलपाल माविको खेल मैदान निर्माण गर्न २५ लाख, आलीताल गाउँपालिका ७ र ४ मा बान्नेगडा गोरेघर मेलगजा खेल मैदान, कोइली विद्यालय मैदान निर्माण भन्ने शीर्षकमा १५ लाख, गन्यापधुराको भुवनेश्वरी आवि कक्षाकोठा मर्मत र समैजी प्रावि थलकोटको खेल मैदान निर्माणका लागि १० लाख खर्च गरिएको छ । 

सिँचाइ सुविधा

मुख्य खाद्यान्न बाली धान, गहुँ, मकै, कोदोदेखि सबै जातका तरकारी र फलफूल खेती उब्जाउ हुने डडेलधुरामा यस वर्ष मात्रै हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेलधुराको चालु आवको २८ करोड २० लाख रुपियाँ लागतमा २१० योजना निर्माण भइरहेका छन् । कार्यालय प्रमुख अमर पालका अनुसार यस वर्ष १७१ नयाँ र ३९ क्रमागत गरेर २१० योजना निर्माणाधीन रहेका छन् । 

हालसम्म पूरा भएका ठुला योजनामा ४० लाख लागतको परशुराम नगरपालिका–५, परीगाउँको अपरपरीगाउँ सिँचाइ योजना हो । यस योजनाले दुई सय हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको कार्यालयका प्राविधिक रोशन भट्टले बताउनुभयो । यस्तै ३० लाख लागतको अजयमेरु गाउँपालिका–६ को भराण सिँचाइ योजनाबाट ४० हेक्टर, २० लाख रकम लागतको परशुराम नगरपालिका–४ को शीर्ष सिँचाइ योजनाबाट ३५० हेक्टर, २० लाख लागतको अजयमेरु गाउँपालिका–२, बडी सिँचाइ योजनाबाट २५ हेक्टर र भागेश्वर गाउँपालिका–१, चुडीगाउँको चमगाड सिँचाइ योजनाबाट ४० हेक्टर क्षेत्रफल सिञ्चित भएको छ । यसै गरी अन्य २०५ वटा साना योजनाबाट सिञ्चित हुने जमिनको क्षेत्रफल एक हजार हेक्टरभन्दा बढी हुने उहाँले बताउनुभयो । 

बृहत् फलफूल बगैँचा 

कृषि ज्ञान केन्द्रले खाद्यान्न बृहत्देखि व्यावसायिक फलफूल बगैँचा स्थापनासँगै प्राविधिक सहयोग गरिरहेको छ । यसले गर्दा यहाँका किसान एकै जातका हजारौँ फलफूलका बिरुवा रोपेर व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरूका अनुसार यस वर्ष सात करोड २७ लाखभन्दा बढीका खाद्यान्न, फलफूल, तरकारीसँगै मल उत्पादनका योजना सञ्चालन गरिएका छन् । 

उहाँका अनुसार खाद्यान्न बृहत् धान उत्पादन कार्यक्रम गन्यापधुरा गाउँपालिका–३, सकायलमा १० लाख, मकै उत्पादन आलीताल गाउँपालिका–५ मा १० लाख, दलहन बृहत् उत्पादन अजयमेरु गाउँपालिका–४ मा आठ लाख, भटमास, मकै बृहत् उत्पादन नवदुर्गा गाउँपालिका–५ मा १० लाख, फलफूल बृहत् अनार खेती कार्यक्रम अजयमेरु–२ बडीगाउँमा १० लाख, हाइटेक नर्सरी तथा गँड्यौला मल उत्पादन अजयमेरु–२ मै १० लाखका योजना पूरा गरिएका छन् । 


अमरगढीमा निर्माण गरिएको खेल मैदान । 


बडीगाउँमा जग्गा भाडामा लिएर स्थानीयले समूह बनाएर एक हजारभन्दा बढी अनारका बिरुवा रोपेका छन् । महादेव अनार खेती समूह बनाएर १५ भन्दा बढी स्थानीयले २० वर्षका लागि जमिन भाडामा लिएर गत वर्ष अनारका बिरुवा रोपेर घेरबार गरेर हुर्काइरहेको समूहका अध्यक्ष मदन पनेरूले बताउनुभयो । उहाँका अनुसार कृषि ज्ञान केन्द्रले गत वर्ष ३० लाख र यस वर्ष १० लाख अनुदान सहयोग गरेको छ । यस वर्ष विपन्न वर्षलक्षित कार्यक्रम अन्तर्गत सात वटै पालिकामा २५ लाख पोलिहाउस बनाइएका छन् । एउटा पालिकामा २० जना विपन्नलक्षित वर्गका किसानलाई पोलिहाउस निर्माणमा अनुदान दिइएको छ । 

खाद्यान्न बृहत् एवं विशेष उत्पादन मकै आलीताल–५ को ६ हेक्टर क्षेत्रफलमा मकै बिउ उत्पादनका लागि एक हजार दुई सय केजी बिउ, १७ थान मिनिटिलर, चार वटा इलेक्टिकल कर्न सेलर, ८० थान त्रिपाल र दुई वटा विद्युतीय तराजु वितरण गरिएको छ ।  सुन्तला जातका फलफूल बगैँचा प्रवर्धन विस्तार कार्यक्रम अन्तर्गत भागेश्वर र गन्यापधुरा गाउँपालिकामा पाँच लाख रुपियाँ बजेटमा कृषकलाई बगैँचा व्यवस्थापन तथा उत्पादनसम्बन्धी तालिम, बगैँचा व्यवस्थापन, गोडमेल तथा बिरुवालाई मलजल, औषधी र काँटछाँट गर्ने तरिका सिकाइएको छ ।  प्राविधिकको टोलीले बोट काँटछाँट गर्ने, बाक्लो हाँगा, रोगी हाँगा, चोर हाँगा, भित्रपट्टि फर्केका हाँगाबिँगा हटाउने, काट्ने, काटेको ठाउँमा औषधी लगाउने, मल राख्ने, सिँचाइ गर्ने विधि तथा तरिका सिकाउनुका साथै फुट स्प्रे, कैँची क्रप, कपरपेस्ट सिकेचर, आरी, बोर्डपेस्ट सिल्ट्रस प्लस, प्याडल स्प्रे, भिटामिनलगायतका सामग्री दिइएको छ  ।

 दुध र मासु निर्यात

केही वर्षअघिसम्म मासु आयात गर्ने डडेलधुराले हाल मासुसँगै दुध निर्यात गरिरहेको छ । भित्री मधेश परशुराम नगरपालिका र आलीताल गाउँपालिकाबाट सातामा १० हजार लिटर दुध नेपाल दुग्ध संस्थान कैलालीले लैजाने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र डडेलधुराका प्रमुख वरिष्ठ चिकित्सक देवराज भट्टले बताउनुभयो । डडेलधुराबाट तीन ट्रकसम्म खसी अन्य जिल्ला पठाइन्छ । यद्यपि खसी निर्यातको यकिन तथ्याङ्क सङ्कलन गर्न नसकिएको उहाँको भनाइ छ । 

यस वर्ष भेटेरिनरीको जम्मा बजेट तीन करोड ४१ लाखमा ११३ वटा योजना पूरा हुने चरणमा छन् । यीमध्ये एक करोड रकम बराबरको भैँसी प्रवर्धनको कार्यक्रम छ । २० लाखका दरले जिल्लाका पाँच वटा पालिकामा भैँसी प्रवर्धनका लागि भैँसी खरिद र गोठ निर्माण गरिएको छ । 

अमरगढी नगरपालिका–७, पनौलिर साउनगाउँ, परशुराम नगरपालिका–१२, लालढुङ्गा बजार क्षेत्र, आलीताल गाउँपालिका–६, शेरी गाउँ, नवदुर्गा गाउँपालिका–२, ढिलेली र बकालसिन र अजयमेरु गाउँपालिका–६, न्याउली गाउँमा भैँसी प्रवर्धनको कार्यक्रम लागु गरिएको छ । पाँच वटै पालिकामा ६७ भैँसी खरिद गरिएको र बाँकी गोठ निर्माण सुधार गरिएको जानकारी उहाँले दिनुभयो ।