ढल्केबर समाचारदाता
ढल्केबर (धनुषा), जेठ ३० गते । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश सरकारले आफ्नै सञ्चार संस्था स्थापना गर्ने तयारी गरेको बताउनुभएको छ । बिहीबार धनुषाको ढल्केबरमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा मधेश प्रदेशका गोरखापत्र समाचारदाताको भूमिका’ विषयक दुईदिने कार्यव्रmमको समापन समारोहमा मन्त्री लेखीले यस्तो बताउनुभएको हो ।
उहाँले प्रदेश सरकारले टेलिभिजन, रेडियो र प्रदेश समाचार समितिको स्थापना गर्ने तयारीसमेत अघि बढाएको बताउँदै त्यसबाट प्रदेशका करिब ५० देखि ६० जनासम्म सञ्चारकर्मीलाई रोजगारीको अवसर प्राप्त हुने जानकारी दिनुभयो । मन्त्री लेखीले सञ्चारकर्मी र सञ्चार क्षेत्रको अभिवृद्धिका लागि मन्त्रालयले प्रदेशका आठ वटै जिल्लामा रहेका नेपाल पत्रकार महासङ्घका शाखालाई १०÷१० लाख रुपियाँका दरले उपलब्ध गराउने योजनासमेत अघि बढाइएको उल्लेख गर्नुभयो । उहाँले सञ्चार महोत्सव, कार्यशाला गोष्ठी तथा पत्रकारको क्षमता अभिवृद्धिका कार्यव्रmम मन्त्रालयमार्फत नियमित सञ्चालन गर्ने स्पष्ट पार्नुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबै नागरिकको अधिकार सुनिश्चित गर्ने प्रणाली भएको उल्लेख गर्दै मन्त्री लेखीले सञ्चारकर्मीले अझ जिम्मेवार भएर समाजमा रहेका विभेद र विभाजनको अन्त्यका लागि कलम चलाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हामी छिटपुट रूपमा व्यवस्थाविरुद्धका गतिविधि देखिरहेका छौँ । यसको जिम्मेवारी लिनु पर्छ । हाम्रो व्यवहार, जीवनशैली र कार्यशैलीले ठुलो अर्थ राख्छ ।”
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले यस्ता कार्यव्रmमले गोरखापत्र परिवारलाई थप ऊर्जा र हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “गोरखापत्र पत्रकारिताको पाठशाला हो । यसको गरिमा अझ बढाउने गरी प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गर्दै गोरखापत्रलाई जनमुखी, अनुसन्धानमुखी र जिम्मेवार पत्रिकाका रूपमा विस्तार गर्दै लैजाने योजनामा छौँ ।” अध्यक्ष सुवेदीले गोरखापत्रलाई सार्वजनिक सेवा पत्रकारिताको अवधारणा अनुसार अघि बढाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।
कार्यव्रmममा गोरखापत्र संस्थानका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले गोरखापत्र केवल सूचना दिने माध्यम मात्र नभएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आवाजसमेत भएको बताउनुभयो । गोरखापत्रले प्रदेशका सवाल, नागरिकका अधिकार र जनजीवनका विविध आयामलाई समेटेर समाचार सम्प्रषेण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्काले प्राधिकरणले सञ्चार संस्थालाई जीवित राख्नका लागि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो बजेट सीमित भए पनि रेडियो, टेलिभिजन र पत्रपत्रिकालाई समान रूपमा वितरण गर्दै आएका छौँ ।”