• ३१ जेठ २०८२, शनिबार

रोकिएनन् आगलागीपीडितका आँसु

blog

बाम्का बजारका अग्निपीडित । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, जेठ ३० गते । बाजुराको बुढीगङ्गा नगरपालिका–६ को बाम्का बजार जिल्लाकै एक प्रमुख बजारका रूपमा चिनिन्छ । यो बजारमा यहाँका अन्य बजारभन्दा बढी चहलपहल हुन्छ । यही बजार गत जेठ २३ गते दिउँसो होटेलमा राखेको ग्यास सिलिन्डर पट्किएर भीषण आगलागी भयो । आगलागी हुँदा यहाँका झन्डै ३५ पसल जलेर नष्ट भए भने झन्डै १५ करोड बराबर धनमालको ठुलो क्षति भयो । 

बैङ्कबाट ऋण गरेर बर्खाका लागि सामान जोहो गरेकै बेलामा यसरी एक्कासि आगलागी हुँदा त्यहाँका व्यापारीलाई अहिले कसरी गुजारा गर्ने चिन्ता लागेको छ । गत २३ गते पसल जलेर नष्ट भएपछि व्यापारीका आँखाको आँसु अझै रोकिएका छैनन् । यसमध्येका एक व्यापारी हुन् रामबहादुर ऐडी । यो आगलागीमा सबैभन्दा बढी उहाँकै क्षति भएको छ । उहाँले सामान त के त्यो दिनमा ग्राहकबाट सङ्कलन भएको पैसासमेत बचाउन सक्नु भएन । 

अहिले पनि उहाँ जलेकै पसलनिर आएर टोलाउने गर्नुहुन्छ । लामो समयदेखि कमाएको सम्पत्ति यसरी एक दिनमै सबै जलेर सखाप भएपछि उहाँ निकै पीडामा हुनुहुन्छ । पसल जलेकै ठाउँमा बसिरहेका व्यापारी रामबहादुर ऐडीले पैसा गन्न नपाउँदै र हेर्दाहेर्दै सबै पैसा जलेर नष्ट भयो भन्दै भक्कानिनुभयो । उहाँले भन्नुभयो, “पसलसँगै सात लाखको मोटरसाइकल र अन्य गाडीसमेत जलेर नष्ट भए । अहिले आफूलाई यताउता जानलाई समेत गाडी छैन ।”

पसलको सबै सामान जलेर गयो तर यता ऋण भने बाँकी छ । पसल खरानी भएपछि अब कसरी त्यो ऋणको किस्ता तिर्ने, ऐडीले दुःखको कुरा सुनाउनुभयो । प्रहरीको मुचुल्का अनुसार १४ पसल र दुई होटेल पूर्ण रूपमा नष्ट भएका छन् भने १९ वटामा आंशिक रूपमा गरेर झन्डै ३५ पसलमा झन्डै १५ करोड रुपियाँ बराबरको क्षति भएको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।

पाँच लाख राहत सङ्कलन 

बाजुराको बाम्का बजारका आगलागी पीडितका लागि अहिलेसम्म पाँच लाख रकम सङ्कलन भएको छ भने झन्डै १२ लाख रुपियाँ वितरण भइसकेको छ । यहाँका जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थादेखि व्यापारी उद्योगीबाट समेत राहत सङ्कलन गर्ने काम भइरहेको छ । राहत दिँदा एकद्वार प्रणालीमार्फत दिने व्यवस्था भएकाले बुढीगङ्गा नगरपालिकाले विभिन्न ठाउँबाट प्राप्त हुने रकमलाई एकै ठाउँमा जम्मा हुने गरेर राहत कोष खाता सञ्चालन गरेको छ । आगलागीपीडितलाई राहत दिनका लागि कार्यविधि पनि बनाएको छ । प्रदेश सरकारले पनि झन्डै ४० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । 

अहिले हामीले यहाँका आगलागीपीडितको टहरा निर्माण कार्यलाई तीव्रता दिँदै अएका छौँ । त्यसका लागि पूर्ण रूपमा क्षति भएकालाई तीन लाख र आंशिक रूपमा क्षति भएकालाई ५० हजार रुपियाँ दिने र एक महिनाभित्र सबै टहरा निर्माण गरिसक्ने योजना रहेको नगरपालिकाले बनाएको छ ।