खाँदबारी समाचारदाता
खाँदबारी (सङ्खुवासभा), जेठ ३० गते । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मा रहेकोे धार्मिक पर्यटकीय क्षेत्र मनकामनाधाम ओझेलमा परेको छ । विश्वको होचो अरुण उपत्यकामा रहेको यो ठाउँ धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छ । मनकामनाधाम उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो । सङ्खुवासभा र भोजपुर जिल्लाको सङ्गमस्थल अरुण नदीको किनारमा अवस्थित तीर्थस्थल मनकामनाधामले राष्ट्रिय पहिचान पाउन नसक्दा ओझेलमा परेको पुजारी सूर्यप्रसाद कट्टेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मनकामनाधामको उत्पत्ति सत्यदेवीको मस्तिष्क पतन भएर भएको विश्वास गरिन्छ । नदीकिनारमै रहेको छत्रशिला क्षेत्रलाई पार्वतीको मस्तिष्कको प्रतीक मानिन्छ । भक्तजनले अरुण नदीको जल ल्याएर छत्रशिलामा पूजा गरेपछि मात्रै मुख्य मन्दिरमा दर्शन गर्ने परम्परा छ ।”
यहाँ दर्शन गर्दा मनोकामना, आकाङ्क्षा पूरा हुने जनविश्वास छ । छत्रशिलामा देवीदेवताका विभिन्न आकृति, गरुड, नाग, हात्ती र पार्वतीको पाइला जस्ता स्वरूप प्रकट भएको विश्वास गरिएको छ । यसै शिलामा राम, कृष्ण र वराह अवतार समेटिएको संरचना देखिन्छ ।
मनकामनाधामका मुख्य पुजारी कट्टेलले पूर्वको एक अत्यन्त महत्त्वपूर्ण धार्मिक स्थल भएर पनि यस धामको प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेको बताउनुभयो । यहाँ आउने भक्तजनलाई यसको आध्यात्मिक महŒव बुझाउन नसक्दा यो ठाउँ ओझेलमा परेको उहाँ बताउनुहुन्छ । एक दशकअघिबाट मनकामनामा गुरुकुल सञ्चालनमा आएको छ । गुरुकुलमा देशभरिबाट आएका करिब डेढ दर्जन वटुकले वेद, रुद्री, कर्मकाण्ड, भागवत आदि शिक्षा लिइरहेको उहाँले बताउनुभयो । गुरुकुल सञ्चालक लक्ष्मणप्रसाद पोखरेलले धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि यस क्षेत्रलाई गुरु परम्पराको केन्द्र बनाउने उद्देश्यसहित गुरुकुल स्थापना गरिएको जानकारी दिनुभयो ।
पछिल्लो समय यस धाममा केही संरचना निर्माण भए पनि पूर्वाधार अभाव र सरकारी प्राथमिकतामा नपरेका कारण भने जस्तो विकास हुन नसकेको स्थानीय बताउँछन् । अरुण नदीमा आएको बाढीका कारण पुरानो मन्दिर क्षतिग्रस्त बनाएको र २०२१ सालयता माथिल्लो क्षेत्रमा नयाँ मन्दिर निर्माण गरिए पनि बाटो, पुल र आवागमन सुविधाको कमीले भक्तजनलाई समस्या हुने गरेको छ । विशेष गरी भोजपुरतर्फबाट सतीघाटमा पक्की पुल नहुँदा आवतजावतमा बाधा पुगेको छ ।
मनकामनाधाम संरक्षण र बाढीको जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काको पहलमा अरुण नदीको किनारमा तटबन्ध निर्माण अघि बढाइएको छ । उहाँले भन्नुभयो, “धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महŒवपूर्ण मनकामनाधामको संरक्षण गर्नु राज्यको दायित्व हो । यो क्षेत्रलाई बाढीजन्य विपत्बाट सुरक्षित राख्दै धार्मिक पर्यटन प्रवर्धन गर्न तटबन्ध निर्माणको काम पहिलो चरणमा भइरहेको छ ।”
मनकामना धामको संरक्षण र प्रवर्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा दीर्घकालीन योजना, पूर्वाधार विकास र प्रचारप्रसार आवश्यक देखिएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो ।