मुलुकको अर्थतन्त्र लयमा फर्कंदै छ । कोभिड महामारी र श्रीलङ्काको अर्थतन्त्र टाट पल्टिएको घटनाले चरम दबाबमा परेको हाम्रो अर्थतन्त्र जोगिँदै अहिलेको अवस्थामा आएको हो । देशका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाएसँगै अर्थतन्त्र सही बाटोमा अघि बढेको छ । एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारको सबल नीति र कार्यक्रमले सबैखाले अवरोध चिर्दै अर्थतन्त्रलाई गति दिएको छ । त्यसैको परिणामस्वरूप पछिल्लो १० महिनामा अर्थतन्त्रका सबै परिसूचक सकारात्मक देखिएका हुन् ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको तथ्याङ्क अनुसार राजस्व तथा खर्च, व्यापार, शोधनान्तर अवस्था, कर्जा तथा निक्षेप परिचालन, मुद्रास्फीतिलगायतका सूचकमा उल्लेख्य सुधार भएको छ । शोधनान्तर अवस्था अहिलेसम्मकै उच्च बचतमा छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति चार खर्ब ३८ अर्ब ५२ करोड रुपियाँले बचतमा छ । यो अघिल्लो आवको तुलनामा ४६ अर्ब रुपियाँले बढी हो । चालु खाता मजबुत हुँदा शोधनान्तर स्थिति उच्च बचतमा रहेको छ । १० महिनामा मुलुकको चालु खाता दुई खर्ब ५५ अर्ब ९३ करोड रुपियाँले बचतमा छ । यस अवधिमा चालु खातामा २० खर्ब २२ अर्ब रुपियाँ जम्मा हुँदा १७ खर्ब ६६ अर्ब १० करोड रुपियाँ बाहिरिएको छ । अन्तर्राष्ट्रिय व्यापार, विपे्रषण आप्रवाह, प्रत्यक्ष लगानीबाट प्राप्त आम्दानीलगायतका शीर्षक चालु खातामा पर्छन् ।
यो अवधिमा क्रमिक रूपले महँगी दर पनि घटेको छ । वैशाखमा यस्तो दर २.७७ प्रतिशत थियो जबकि अघिल्लो वैशाखमा यस्तो दर ४.४० प्रतिशत थियो । खाद्य तथा पेयपदार्थको महँगी दर १.५२ प्रतिशत छ र गैरखाद्यवस्तुको दर ३.४ प्रतिशत छ । महँगी दर गाउँमा बढी देखिएको छ । गाउँमा ३.२१ प्रतिशतले महँगी बढ्दा सहरमा यस्तो दर २.६१ प्रतिशत मात्र छ । प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा कम अर्थात् २.१५ प्रतिशत र सबैभन्दा बढी कोशी प्रदेशमा ४.२९ प्रतिशत महँगी दर रहेको छ । थोक मुद्रास्फीति दर भने ३.९५ प्रतिशत मात्र रहेको छ ।
वैशाखसम्म मुलुकबाट हुने निर्यातमा ऐतिहासिक वृद्धि भएको छ । राष्ट्र बैङ्कका अनुसार वस्तु निर्यात ७२.७ प्रतिशतले बढेर दुई खर्ब १७ अर्ब रुपियाँ नाघेको छ । आयात पनि १३.१ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १९ करोड रुपियाँ पुगेको छ । कुल वस्तु व्यापार घाटा ६.७ प्रतिशतले बढेको छ । सेवा क्षेत्र भने घाटामा देखिएको छ । वैशाखसम्म सेवा क्षेत्र ८६ अर्ब ५३ करोड रुपियाँले घाटामा रहेको तथ्याङ्क छ । खास गरी भ्रमणबापत बाहिरिने रकम बढी हुँदा सेवा आय घाटामा रहेको पाइएको छ । भ्रमण आम्दानी ८.३ प्रतिशतले बढेर ७५ अर्ब ७१ करोड रुपियाँ पुगे पनि सोही शीर्षकमा नेपालबाट बाहिरिने रकम १७.९ प्रतिशतले बढेर एक खर्ब ८५ अर्ब तीन करोड रुपियाँ पुगेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषणबापतको रकम निरन्तर वृद्धिकै लयमा छ । वैशाखसम्म विप्रेषण आप्रवाह १३.२ प्रतिशतले बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ पुगेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चार लाख पाँच हजार र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८० हजार रहेको छ ।
मुलुकसँग विदेशी मुद्राको सञ्चिति पर्याप्त छ । वैशाख मसान्तसम्म विदेशी मुद्राको सञ्चिति २२ खर्ब ११ अर्ब रुपियाँ बराबर रहेको छ । अमेरिकी मुद्रामा यस्तो सञ्चिति १५ अर्ब २७ करोड डलर रहेको छ । कुल सञ्चितिमध्ये भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ । मुलुकसँग रहेको सञ्चितिले १७ महिना १२ दिनको वस्तु र एक वर्षको वस्तु तथा सेवा आयात गर्न पुग्ने छ । बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब ६८ अर्ब ६८ करोड (७.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई खर्ब २५ अर्ब २४ करोड (४.७ प्रतिशत) ले बढेको थियो । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप तीन खर्ब ९९ अर्ब ८१ करोड (६.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप चार खर्ब ४३ अर्ब आठ करोड (७.८ प्रतिशत) ले बढेको थियो । समग्रमा अर्थतन्त्रमा देखिएका यी सकारात्मक परिसूचकले आउँदा दिन अरू सहज हुने अपेक्षा गरिएको छ ।