• ३१ जेठ २०८२, शनिबार

जी–७ मा रुसीमाथि प्रतिबन्धबारे ट्रम्पलाई दबाब आउनेमा जेलेन्स्की आशावादी

blog

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

किएभ, जेठ ३० गते । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रुसमाथिको प्रतिबन्ध बढाउन नेताहरूले दबाब दिनेमा जेलेन्स्कीले आशा व्यक्त गर्नुभएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणका बाबजुत वासिङ्टनले तीन वर्षपछि मस्कोसँगको सम्बन्ध अघि बढाएपछि युरोप र किएभ ट्रम्पबाट तर्सिएका छन् ।

गत फेब्रुअरीमा ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीचको वार्ता पनि तिक्ततापूर्ण भएको थियो, घटनाले युक्रेनका पश्चिमा मित्रराष्ट्रलाई स्तब्ध बनाएको थियो ।

त्यसपछि, जेलेन्स्की अमेरिकासँग सम्बन्ध सुधार्ने प्रयासमा देखिएपनि यो जोडीले अप्रिलमा भ्याटिकनमा छोटो समय मात्रै भेटवार्ता गरेको थियो ।

जेलेन्स्कीले भन्नुभयो, “म क्यानडामा यसै साताबाट सुरु हुने जी–७ शिखर सम्मेलनमा ट्रम्पसँग कुराकानी गर्न आतुर छु ।”

हालैका दिनहरूमा, जेलेन्स्की र उहाँका सहयोगीहरूले सहयोगी राष्ट्रहरूलाई रूसमाथि दबाब बढाउन आह्वान गर्दै आएका छन् किनकि उसले युक्रेनी शहरहरूमा अत्यधिक सङ्ख्यामा ड्रोनहरू प्रक्षेपण गरेको छ ।

ट्रम्पसँग सम्भावित बैठकको बारेमा बोल्दै जेलेन्स्कीले भन्नुभयो, “नयाँ प्रतिबन्ध र प्याकेज धेरै महत्त्वपूर्ण छ । अन्तिम निर्णय अझै ह्वाइट हाउसमा छ, यो संयुक्त राज्य अमेरिकाका राष्ट्रपति ट्रम्पमा निर्भर गर्दछ ।”

ट्रम्प र संयुक्त राज्य अमेरिकाले अघि सारेका शान्ति प्रयासहरू अहिलेसम्म सफल हुन सकेका छैनन् र रूसले बिनाशर्त युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ । रासस/एएफपी