गत वर्ष नेपालको सरकारी तथ्याङ्कमा लगभग आठ हजार ८६१ विपत्का घटना प्रवृष्ट भए । यी पञ्जीकृत घटना र दुर्घटना मात्रै हुन् । बाँकी कैयौँ घटना सरकारी निकायसम्मै आइनपुगेका पनि छन् । कति त्यत्तिकै सेलाएका छन् । सरकारको आधिकारिक निकायमा नआउँदासम्म ती रेकर्डमा बस्दैनन् र गणनामा पनि पर्दैनन् । सरकारको त्यही तथ्याङ्कलाई मात्रै केलाउने हो यी विपत्का घटनामा परेर कम्तीमा पनि ७४५ जनाको ज्यान गएको देखिन्छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अभिलेख गरेका घटना विवरण अनुसार त्यो एक वर्षमा कम्तीमा पनि तीन अर्ब तीन करोडभन्दा धेरैको आर्थिक क्षति नागरिकले बेहोर्नु पर्यो । नागरिकको ज्यानको अघि सम्पत्तिको यो आर्थिकीकरण त्यत्ति मूल्यवान नहुन सक्छ तर राज्यले परिपूर्ति गर्नुपर्ने क्षतिको गणित त्यो भन्दा पनि कैयौँ गुणा बढी हुन्छ । त्योभन्दा अझ ठुलो पीडाको मूल्य आमनागरिकले चुकाउनु पर्छ । हरेक प्राकृतिक र दैवीय विपत्तिमा यो आमनागरिकले भोग्नुपर्ने र भोग्दै आएको नियति जस्तै हो ।
सयौँ मानिस त्यही विपत्का कारण बेपत्ता पनि भएका छन् । हरेक वर्ष यसरी सयौँ मानिसको अत्तोपत्तो हुँदैन । हजारौँ मानिस घाइते अनि अपाङ्गता हुन्छन् । मान्छेसँगै कैयौँ प्राणीको ज्यान पनि यस्ता विपत्का सिकार हुँदै आएका छन् । गत वर्षको तथ्याङ्कलाई केलाउने हो भने सबैभन्दा बढी बाढी, पहिरा र चट्याङ अनि भारी वर्षाका कारण मान्छेको ज्यान गइरहेको छ । त्यसको प्रभावले हुने सडक तथा हवाई दुर्घटना त यसमा खासै जोडिएका हुँदैनन् । त्यसलाई पनि जोड्ने हो भने र मानवीय धनमालको क्षतिको ग्राफ अझ उकालो चढ्छ । राज्यले एउटा मात्रै नागरिकको ज्यानको मूल्य पनि लगाउन मिल्दैन । झन् हजारौँ नागरिक हरेक वर्ष दोहोरिइरहने विपत्का कारण मरिरहँदा मानवीय मूल्यको त तुलना नै हुन सक्दैन । हरेक वर्षका घटना र त्यसबाट हुँदै आएको क्षतिका अङ्क गणित हे¥यौँ भने हामीले निकै धेरै गुमाइसकेको थाहा हुन्छ । हरेक वर्ष प्रकाशित हुने यी डरलाग्दा र भयानक तथ्य अनि तथ्याङ्कबाट हामी अझ धेरै चनाखो अनि सचेत हुनुपर्नेमा हामी झन् झन् औपचारिकतामा मात्रै साँघुरिन थालेका छौँ ।
प्रकृतिले ल्याउने यस्ता स्वाभाविक आपत्बाट घेरिने समय फेरि पनि आइपुगेको छ । यद्यपि प्राकृतिक र दैवीय घटनाको कुनै मौसम वा ऋतु हुँदैन । कुनै मौसममा त्यसको भने ज्यादा जोखिम हुन्छ । त्यस्तै मनसुनको समय पनि एउटा त्यस्तै अवधि हो । जहाँ हामीले नचाहेरै पनि धेरै क्षति अनि जोखिम बेहोरिरहेका हुन्छौँ । अवश्यमभाबी यस्ता आपत्को निर्मूलीकरण सम्भव त छैन तर पूर्वजानकारी अनि पूर्वसचेतना र पूर्वतयारीको अवस्थाले हामी कतिसम्म त्यसबाट जोगिन सक्छौँ वा त्यसको क्षति न्यूनीकरण गर्न सक्छौँ भन्नेमा निर्भर रहन्छ । मनसुन भनेको आफैँमा वर्षा होइन, त्यसको प्रभावका कारण वर्षा हुन सक्छ । अनि यसलाई बर्खामास वा बर्खायाम भन्छौँ । नेपाल जस्तो आधा अर्थतन्त्र खेतीपातीमै निर्भर रहेको देश र यहाँका किसानका लागि यो याम जति हर्षप्रद हुन्छ त्यत्तिकै जोखिम र भयानक पनि हुन्छ । अर्थात् हामी प्रकृतिसँग हामी जति सिँगौरी खेल्न तम्सिन्छौँ, त्यसको बेगले हामीलाई उत्तिकै बेस्सरी हिर्काउँछ । यो प्रकृतिको आफ्नै स्वाभाविक नियम हो । यसलाई बिथोल्नभन्दा पनि हामी त्यसको प्रभावसँग कसरी जुध्ने अनि कसरी त्यससँगको अन्तर्घुलन हुने भन्ने पूर्वसचेतना पनि चाहिन्छ । त्यसका लागि हामीले मनसुनको सँघार कुर्न पर्दैन ।
सिङ्गो वर्ष हामी माझबाट बिदाइ भइरहेको हुन्छ, जहाँ हामीले हामीलाई नै चाहिने कुनै तयारी गरिरहेका हुँदैनौँ । जब मनसुनको याम सुरु हुन्छ अनि त्यस्तै कोठे, औपचारिक कार्यक्रम गरेर हामी त्यसको कर्मकाण्ड मात्रै पूरा गरिरहेका हुन्छौँ । त्यतिञ्जेल विपत्ले गर्नुपर्नेजति सबै गरिरहेको हुन्छ । सक्नुपर्नेजति सबै सकिसकेको हुन्छ । फेरि हामी मान्छे अनि उसले गुमाएका सम्पत्तिलाई गणितीय हिसाब लगाउन व्यस्त हुन्छौँ । यसरी नै काम गरिरहेका कारण हाम्रा संयन्त्रहरू निष्प्रभावी भएका हुन् । नत्र हाम्रै भूगोल, हाम्रै माटोमा हुने यी आपत्विपत्सँग राम्रो परिचित छौँ र हाम्रो आदत पनि भइसकेको छ । अर्थात् हामीलाई यसका स्वभाव थाहा छ । जसलाई हामी सजिलै अपनाउन सक्छौँ ।
यसपालि पनि मनसुन सुरु भइसकेको छ । अघिपछिको भन्दा यसपालि त झन् १५ दिनअघि नै नेपालमा मनसुनको प्रवेश भयो । मनसुन रेकर्ड राख्न लागिएदेखि यो पछिल्ला ५७ वर्षयता मनसुन आफ्नो आगमनभन्दा अघि नै नेपालमा प्रवेश गरेको देखिन्छ । खास गरी बङ्गालको खाडीबाट नेपाल प्रवेश गर्ने मनसुन सामान्यतया जुन १३ मा यहाँ आइपुग्नुपर्ने हो । यसपालि अलि चाँडै भयो । त्यसैले यो लम्बिने देखिन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसपालि मनसुन लगभग १२२ दिन नेपालमा सक्रिय हुने छ । सरदर समय लगभग अक्टोबर २ मा बाहिरन थाल्ने मनसुन यसपालि भने सेप्टेम्बर ३० सम्म रहने अनुमान छ । गत वर्ष १० जुनमा प्रवेश गरेको मनसुन अक्टोबर १० मा मात्रै बाहिरिन सुरु गरेको थियो ।
योसँगै मनसुनको यो अवधिमा सरदरभन्दा धेरै वर्षा हुने र क्षति पनि त्यही अनुसार हुन सक्ने अनुमान पनि गरिएको छ । यसबाट कम्तीमा पनि २० लाख मानिस प्रभावित हुन सक्ने भन्दै विपत् प्राधिकरणले सचेतनाका लागि पनि सरकारका निकायलाई भनिसकेको छ । साढे चार लाख परिवार यसपालि मनसुनजन्य विपत्बाट प्रभावित हुन सक्ने छन् । वर्षा धेरै हुने अनि तापक्रम पनि बढ्ने अनुमान गरिएको छ । तराई छोडेर अहिले पनि राजधानीलगायत पहाडी जिल्लामा समेत तापक्रम उकालो चढिरहेको छ । सामान्यतया नचर्किने काठमाडौँको घाम केही वर्षयता अत्यधिक पोल्ने हुन थालेको छ । यसमा शताब्दीयौँदेखि परिवर्तित मौसमका प्रभाव मिसिएका हुन्छन् । हरेक तीन दशकमा आउने यस्ता परिवर्तनको लेखाजोखालाई नै अहिले आएर ‘जलवायु परिवर्तन’ भन्न थालिएको छ । यो बहस विश्वव्यापी समस्याका रूपमा रहेको जलवायु परिवर्तनको होइन बरु त्यसबाट हुन आउने र भैपरि आउने आपत्विपत्बाट कसरी जोगिने अनि जोगाउने भन्ने हो । तसर्थ सरकारका यी संयन्त्रले गरिरहेका यी प्रक्षेपण मात्रै क्षतिका गणितीय ग्राफ होइनन् बरु सम्बन्धित निकाय र स्वयम् सरकार पनि चनाखो अनि पूर्ण–पूर्वतयारीको अवस्थामा रहनु पनि भनेको हो ।
प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरेर सबै तहका सरकारी तथा गैरसरकारी संयन्त्रलाई समेत त्यही अनुसार तयारी गर्न भन्दै पत्राचार गरिसकेको छ । त्यसका लागि राहत, उद्धार र विपत् प्रतिकार्य संयन्त्रहरू अहिलेदेखि नै सचेतनाको अभियानामा जुट्ने र चौबिसै घण्टा तम्तयार अवस्थामा तैनाथी रहनु हो । यसो नगर्दा जतिखेर, जहाँ पनि जे पनि हुन सक्छ । यस्तो अवस्थामा सरकारी संयन्त्र तयारी अवस्थामा रहेनन् भने त्यसलाई अस्वाभाविक क्षति निम्त्याउन सक्छ । यो हरेक वर्ष हामीले भोग्दै आएको नियति नै हो ।
प्राधिकरणले यो मनसुन अवधिभरि भैपरि आउने विपत्का लागि नेपाल प्रहरीका करिब ५०० विपत् विशिष्टीकृत एकाइलाई तैनाथ रहन भनेको छ । त्यस्तै खोज तथा उद्धारका लागि आवश्यक पर्ने १० हजारभन्दा धेरै प्रहरीलाई स्ट्यान्डवाई हुन भनिएको छ । त्यस्तै विपत्सँग जुध्नका लागि साढे सात हजारभन्दा धेरै सशस्त्र प्रहरी तथा सबै प्रदेशहरूलाई हेभी इक्युपमेन्ट पनि तयारी अवस्थामा राख्न भनिएको छ । राहत तथा उद्धारका सामग्री पनि जम्मा गरिराख्न प्राधिकरणले सबै निकायलाई भनेको छ । हरेक वर्ष यस्ता कार्यका लागि यी हजारौँ जनशक्ति मात्रै होइन खर्बौं रुपियाँ पनि राज्यकोषबाट खर्च भइरहेको छ । यसपालि विपत् व्यवस्थापन कोषमा लगभग चार अर्ब ६५ करोड २४ लाख जति मौज्जाद रकम छ । क्षतिको हिसाबले यो एकदमै न्यून हो । जसबाट हामीलाई क्षतिपूर्तिको दामासाही पनि पुग्दैन । तथापि तत्कालिक उद्धार, आधारभूत राहत र खोजी कार्यका लागि यो रकम परिचालन गर्न सकिन्छ ।
नेपालमा अहिले तीन तहका सरकार क्रियाशील छन् । तीमध्ये स्थानीय तहको महìव निकै छ । समन्वयात्मक भूमिकामा प्रादेशिक संरचनाको पनि उत्तिकै भूमिका रहन्छ । अहिलेसम्म नेपालमा न कुनै विशिष्टीकृत उद्धार तथा राहतको संयन्त्र छ, न त कुनै उद्धारका आधुनिक सामग्री नै । परम्परागत शैलीमा हामीले चलाउँदै आएका उद्धारको अभ्यास र सामग्रीले मात्रै अब थेग्ने अवस्था छैन । नेपाल अनि नेपाली भूगोल आफैँमा प्राकृतिक विपत्को जोमिखयुद्ध भूखण्ड हो । जसका लागि कुनै यस्ता यामहरू मात्रै होइन कि हामी हरेकपल त्यसका लागि तयारी अवस्थामा रहनुपर्ने आवश्यकता छ । सबैभन्दा पहिला त यस्ता विपत्बाट हुने क्षति न्यूनीकरणका लागि सबै तहका संरचनाबिच आपसी सम्बन्ध र समन्वयको एकदमै ठुलो आवश्यकता छ । आपसी समन्वय र सहयोगको अभावमै हामीले विगतमा धेरैभन्दा धेरै क्षतिको मार खेप्दै आएका छौं । यसपालि पनि त्यस्तो हुने छैन भन्ने कामना गरौं र सबै आआफ्नो स्थानबाट बलबुताले भ्याएसम्म त्यसको तयारीमा जुटौँ । सङ्कट र परिणाम हाम्रै सँघारमा छन् ।