• ३१ जेठ २०८२, शनिबार

ताप्लेजुङमा मापदण्ड विपरीत सञ्चालनमा रहेको उद्योग सिलबन्दी

blog

मापदण्ड विपरीत सञ्चालनमा रहेका उद्योग सिल गर्दै सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा नगर प्रहरी । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, जेठ ३० गते ।
ताप्लेजुङमा मापदण्ड विपरीत सञ्चालन भइरहेको उद्योग सिलबन्दी गरिएको छ । बिहीबार अनुगमनको क्रममा फुङलिङ नगरपालिका ६ मा मापदण्ड विपरीत सञ्चालन भइरहेको पाथीभरा पाउरोटी उद्योग सिलबन्दी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र फुङलिङ नगरपालिकाले संयुक्त रुपमा गरेको अनुगमनको क्रममा मापदण्ड विपरीत सञ्चालन भइरहेको पाथीभरा पाउरोटी उद्योग नामक भुजिया तथा हरियो मटर उत्पादन गर्ने उद्योग सिलबन्दी गरिएका छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काका अनुसार उद्योग करिब सात वर्ष अघिदेखि नवीकरण नगरी सञ्चालन गरिएको पाइएको छ । त्यस्तै आवश्यक सरसफाइ नभएको, उत्पादित भुजिया तथा मटरको लेभलिङ नभएको, उत्पादन मिति तथा म्याद गुज्रिने मिति नराखिएको, भुजिया तथा मटरको दानामा अखाद्य कच्चा पदार्थ प्रयोग भएको पाइएको र बालबालिकालाई समेत काममा प्रयोग भएको पाइएकाले उद्योग सिलबन्दी गर्नुपरेको छ । फुङलिङ नगरपालिका ६ नम्बर वडाका वडाध्यक्ष मदन गुरुङ, स्थानीय लगायतको रोहबरमा उक्त उद्योग सिलबन्दी गरिएको छ ।

तेल्लोक ठेगाना भएको सुरेन्द्र अधिकारीको नाममा दर्ता भएको पाउरोटी उद्योग २०७५ सालदेखि यता बिना नवीकरण सञ्चालन भइरहेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी नवीन भट्टराईले बताउनुभयो । उद्योग अधिकारीको नाममा भएता पनि सञ्चालक भारतीय नागरिक रहेका छन् । भारतीय नागरिक जफरुल आलम, अब्दुल जब्बारले ताप्लेजुङमा करिब एक दशक अघिदेखि नै उद्योग सञ्चालन गर्दै आइरहेका छन् । अनुगमनकै क्रममा आलम र जब्बारले दुई जना भारतीय बालकलाई काममा प्रयोग गरिरहेको भेटिएको सहायक प्रजिअ खड्काको भनाइ छ ।

ताप्लेजुङमा बालबालिका तथा युवादेखि वृद्धवृद्धासम्मका नागरिकले अधिकांश रुपमा खाँदै आइरहेको भुजिया तथा मटर स्वास्थ्यका हिसाबले अत्यन्तै हानिकारक भएको पाइएको बताइएको छ । सञ्चालकले एउटै कोठामा सामग्री उत्पादन गर्ने, किचनको प्रयोग गर्ने तथा लुगाकपडा समेत सोही स्थानमा सुकाएको अनुगमनको क्रममा पाइएको छ ।

सञ्चालकलाई कानुन बमोजिमका आवश्यक कागजात पूरा गरी तत्काल जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । सञ्चालक आलमले उत्पादित सामग्रीहरू मोटरसाइकलमा बजारदेखि गाउँगाउँसम्म बोकेर बिक्री गर्ने गरेका छन् ।

हालसम्म उत्पादन भई बजार पसलमा पुर्‍याएको सामग्री अत्यन्तै हानिकार भएको पाइएकाले प्रयोग नगर्न समेत जिल्लावासीलाई आग्रह गरिएको छ ।