गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ३० गते । पाकिस्तानले सात प्रतिशतले घटाएर आर्थिक वर्ष सन् २०२५/२६ को सङ्घीय बजेट सार्वजनिक गरेको छ । कटौतीपछिको बजेट ६२ अर्ब डलर रहेको छ । बजेटको कुल अङ्क घटाए पनि रक्षा बजेट भने २० प्रतिशतले बढाइएको छ । अर्थमन्त्री मुहम्मद औरङ्गजेबले प्रस्तुत गरेको बजेटमा उत्थानशील र आत्मनिर्भर अर्थतन्त्रको खाका प्रस्तुत गर्दै ३.६ प्रतिशत वृद्धिको लक्ष्य राखिएको छ ।
एसियाली विकास बैङ्कका अनुसार २०२४ मा दक्षिण एसियाली देशको औसत वृद्धि ५.८५ रहेकामा २०२५ मा ६.०५ वृद्धि हुने अपेक्षा गरिएको छ । यस अनुसार पाकिस्तानको अपेक्षित वृद्धि दक्षिण एसियाली देशमध्येमा कम हो ।
बजेट अनुसार वित्तीय घाटा कुल गार्हस्थ उत्पादनको ३.९५ पुग्ने लक्ष्य राखिएको छ । बजेटले देशको आर्थिक मार्गमा महत्वपूर्ण परिवर्तनको सङ्केत गर्ने संस्थागत सुधार र वित्तीय अनुशासनलाई जोड दिने, दिगो वृद्धि, समष्टिगत आर्थिक स्थिरता र समावेशी विकासको उद्देश्यले एकीकृत ढाँचाको रूपरेखा प्रस्तुत गर्ने अर्थमन्त्री औरङ्गजेबले जनाउनुभएको छ । भारतसँगको ठुलो सैन्य टकरावपछि, पाकिस्तानले रक्षाका लागि विनियोजनमा उल्लेखनीय वृद्धि गरेको छ । आगामी आवका लागि रक्षा खर्च २.५५ ट्रिलियन पाकिस्तानी रुपियाँमा बढाइएको छ, जुन गत वर्ष विनियोजन गरिएको २.१२ ट्रिलियन रुपियाँको तुलनामा २० प्रतिशतले वृद्धि रहेको समाचारमा जनाइएको छ ।