गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ३० गते । मनसुन सक्रिय भएर वर्षा हुन थालेपछि देशका अधिकांश स्थानमा धान रोपाइँ सुरु भएको छ । तथापि अघिल्ला वर्ष जस्तै यस पटक पनि किसान मलकै समस्यामा रहेका छन् । किसान मलबिना नै रोपाइँ गर्न बाध्य भएका समाचार प्राप्त भएका छन् ।
राजापुरमा मलको खोजी
गुलरिया समाचारदाताका अनुसार बर्दियाको राजापुर क्षेत्रका किसानले धान रोपाइँ सुरु गरे पनि रासायनिक मल पाउन सकेका छैनन् । रोपाइँको समयमा पनि रासायनिक मल नपाएको गुनासो किसानले गरेका छन् ।
गेरुवा गाउँपालिका–६, प्रसेनीका अनुजा थारूले गत वर्ष जस्तै यस वर्ष पनि धानका लागि पर्याप्त रासायनिक मल नपाएको गुनासो गर्नुभयो । उहाँले हरेक वर्ष खेतबारीमा तोके अनुसारको रासायनिक मल नहाली धान रोप्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले एक बिघा खेत भए पनि आधा बोरा मात्र मल पाउने गरेको बताउनुभयो ।
गेरुवा गाउँपालिका–६ का पर्शुराम थारूले सहकारीमा आबद्ध नभएकालाई रासायनिक मलको झन् समस्या भएको बताउनुभयो । उहाँले सहकारीमा आबद्ध भएका साधारण सदस्यलाई मल पुगेपछि मात्र अरू जनताले पाउने गरेको बताउनुभयो ।
बर्दिया जिल्लामा करिब ५१ हजार हेक्टरमा धान खेती हुने गर्दछ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका अनुसार बर्दिया जिल्लामा १२ हजार मेट्रिक टन युरिया, सात हजार मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन पोटासको माग हुँदै आएको छ । उहाँका अनुसार बर्दिया जिल्लामा मागको ५० प्रतिशत मात्र रासायनिक मल उपलब्ध हुँदै आएको छ ।
कृषि सामग्री केन्द्र बर्दिया शाखाका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा बर्दिया जिल्लामा छ हजार पाँच सय मेट्रिक टन युरिया, तीन हजार तीन सय मेट्रिक टन डिएपी आपूर्ति गर्ने लक्ष्य राखिएको थियो । कृषि सामग्री केन्द्र लिमिटेडका गुलरिया शाखाका कार्यालय प्रमुख लालबहादुर थारूले हालसम्म छ हजार मेट्रिक टन युरिया र दुई हजार सात सय मेट्रिक टन डिएपी आपूर्ति भइसकेको बताउनुभयो ।
यता साल्ट ट्रेडिङ कर्पोरेसन गुलरियाका कार्यलय प्रमुख प्रवीणजङ्ग शाहले धानको सिजनका लागि १३ हजार छ सय क्विन्टल युरिया आएकामा वितरण गरिएको बताउनुभयो । हाल किसानलाई आवश्यक भए पनि डिएपी नआएको बताउनुभयो ।
भलपानी पछ्याएर रोपाइँ
लमजुङ समाचारदाताका अनुसार असार नलाग्दै लमजुङमा बर्खे धान रोपाइँ सुरु भएको छ । मनसुन सुरु भएसँगै भलपानी पछ्याउनुका साथै सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सुरु भएको हो । खोला किनारमा रहेका फाँटमा धान रोपाइँ थालिएको किसानले बताएका छन् । खोलाको पानीलाई कुलोमार्फत लगेर धान रोपाइँ गरिएको छ । केही ठाउँमा सिँचाइ सुविधा पुगेको छ ।
मस्र्याङ्दी गाउँपालिका–५, घेर्मुका वृषबहादुर गुरुङले सिँचाइ सुविधा भएकाले घेर्मुफाँटमा धमाधम रोपाइँ भइरहेको बताउनुभयो । सिँचाइ सुविधा भएकाले आलोपालो गरेर धान रोपाइँ भइरहेको उहाँले बताउनुभयो । घेर्मुफाँटमा तीन/चार वटा समूह बनाएर धान रोपाइँ गरिएको छ । किसानले गोरुका साथै पावर ट्रिलर प्रयोग गरेर खेत जोतेका छन् ।
क्व्होलासोथार गाउँपालिका–६, पसगाउँका बासिन्दा पनि धान रोपाइँमा जुटेका छन् । उनीहरूले बेँसी खेत बगैँचामा धान रोपाइँ थालेको स्थानीय राजु गुरुङले बताउनुभयो । क्व्होलासोथार गाउँपालिका–४, भुजुङका किसान पनि घिम्चे खेतमा धान रोप्ने तयारीमा रहेको स्थानीय राकेश गुरुङले बताउनुभयो ।
मस्र्याङ्दी गाउँपालिकाको भलामखोला, खुदीखोला र ङादीखोलाको आसपासमा रोपाइँ सुरु गरिएको छ । यस्तै दोर्दी गाउँपालिकाको नौथर सेरा, चिती, ढोडेनी, फलेनीलगायतका गाउँमा पनि धान रोप्न सुरु गरिएको किसानले बताएका छन् ।
कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत सरोज थापाले जिल्लामा कुल ६१ हजार ८१९ खेतीयोग्य जमिनमध्ये नौ हजार २९९ हेक्टरमा धान रोपाइँ हुने जानकारी दिनुभयो ।