बनेपा समाचारदाता
बनेपा, जेठ ३० गते । काभ्रेपलाञ्चोकका कृषक यस वर्ष पनि रासायनिक मलको अभाव भोग्न बाध्य भएका छन् । उनीहरूको यो समस्या बर्सेनिको हो । कृषक यतिबेला मकैलगायतका खाद्यान्न तथा तरकारी बालीका लागि रासायनिक मलको खोजीमा छन् । सरकारले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ कर्पोरेसनमार्फत माग अनुसार रासायनिक मल उपलब्ध गराउन नसक्दा कृषक मर्कामा परेका हुन् । उनीहरू बिचौलियासँग चर्को मूल्य तिरेर मल किन्न बाध्य छन् ।
जिल्लाका कृषकले यतिबेला मकै बालीका लागि युरियाको माग बढी गरिरहेका छन् तर कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले माग अनुसार युरिया उपलब्ध गराउन सकेका छैनन् ।
यी दुवै संस्थाले सहकारीमार्फत कोटा प्रणालीमा रासायनिक मल उपलब्ध गराउँदै आएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेलका प्रमुख योगेन्द्रकुमार पराजुलीले युरिया मलको माग धेरै आएको भए पनि माग पूरा गराउन सक्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले पाउने रासायनिक मलको कोटाबाट काभ्रेपलाञ्चोकले १७.५ प्रतिशत मात्रै पाउने भएकाले हरेक वर्ष कार्यालयले कृषकले माग गरे अनुसारको रासायनिक मल उपलब्ध गराउन नसकेको र यस वर्ष पनि नसक्ने बताउनुभयो ।
उहाँले काभ्रेपलाञ्चोक जिल्ला नेपालमा नै सबैभन्दा बढी रासायनिक मल खपत गर्ने जिल्ला भए पनि कोटा प्रणाली लागु गर्दा त्यसको मूल्याङ्कन नगरी कम कोटा निर्धारण गरिएको बताउनुभयो । कार्यालय प्रमुख पराजुलीले चालु आवका लागि कार्यालयले आठ हजार आठ सय मेट्रिक टन युरिया, छ हजार ५० मेट्रिक टन डिएपी र ४४० मेट्रिक टन पोटास मल गरी कुल १३ हजार नौ सय मेट्रिक टन मलको कार्यक्रम पेस गरे पनि केन्द्रबाट १३ हजार नौ सय मेट्रिक टन मात्रै स्वीकृत गरेको बताउनुभयो ।
उहाँले चालु आवको हालसम्म कृषि सामग्री कम्पनीमा छ हजार २१ मेट्रिक टन युरिया, तीन हजार ३९ मेट्रिक टन डिएपी र २७४.७५ मेट्रिक टन पोटास मल प्राप्त गरेको बताउनुभयो । आएको मलमध्ये पाँच हजार ७०४ मेट्रिक टन युरिया, दुई हजार ८७८ मेट्रिक टन डिएपी र २६० मेट्रिक टन पोटास मल जिल्लाका १३ वटा स्थानीय तहमा वितरण गरिएको बताउनुभयो । कोटाको करिब पाँच सय मेट्रिक टन डिएपी मल आउन बाँकी रहेको बताउनुभयो ।
यस्तै कोटाको युरिया भने असारको दोस्रो सातातिर आउने जानकारी प्राप्त भएको कम्पनीले जनाएको छ । पराजुलीले तत्कालका लागि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका लागि करिब एक हजार पाँच सय मेट्रिक टन युरिया मलको आवश्यकता रहेको बताउनुभयो ।
कृषि सामग्री र साल्ट टे«डिङले पर्याप्त मात्रामा युरिया मल उपलब्ध गराउन नसक्दा जिल्लाका कृषकले करिब एक हजार रुपियाँ पर्ने युरिया मल बिचौलियासँग दुई हजार तीन सयदेखि दुई हजार पाँच सय रुपियाँसम्म मूल्य तिरेर मल किन्न बाध्य भएका छन् । सम्बन्धित निकाय त्यस्तो कालोबजारी रोक्न र कारबाही गर्न असक्षम बनेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन बनेपाका शाखा प्रमुख ईश्वर आचार्यले कार्यालयमा युरिया मलको अत्यधिक माग रहेको बताउनुभयो । उहाँले दैनिक २० भन्दा बढी सहकारी संस्थाले युरिया मलको माग धेरै गरेको बताउनुभयो । उहाँले किसानको माग अनुसार युरिया मल दिन सकिने अवस्था नरहेको बताउनुभयो ।