• ३१ जेठ २०८२, शनिबार

प्राङ्गारिक मल उत्पादन सुरु

blog

उत्पादित प्राङ्गारिक मल । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता

तानसेन, जेठ ३० गते । पाल्पाको रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु भएको छ । गाउँपालिका र स्थानीय सहकारी संस्थाको ४० लाख रुपियाँको लगानीमा मल उत्पादन सुरु भएको हो । बढ्दो रासायनिक मलको प्रयोग कम गर्न गाउँपालिका र स्थानीय जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त लगानीमा प्राङ्गारिक मल उत्पादन गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार प्राङ्गारिक मल उत्पादनका लागि गाउँपालिकाले १९ लाख र सहकारी संस्थाको २० लाख गरी ३९ लाख रुपियाँ लगानी छ । हाल दैनिक पाँच क्विन्टल मल उत्पादन भइरहेको छ । 

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको रिब्दीकोट गाउँपालिकाले गत आव २०८०/८१ मा मल उद्योग सञ्चालन गर्न १५ लाख रुपियाँ विनियोजन गरेको थियो । अध्यक्ष कार्कीले चालु आवमा थप चार लाख रुपियाँ विनियोजन गरेको बताउनुभयो । उत्पादित प्राङ्गारिक मल प्रतिकेजी २५ रुपियाँमा बिक्री भइरहेको सहकारीले जनाएको छ । 

गाउँमा फालिएका पातपतिङ्गर, गाईगोरुको गोबर, स्याउलाबाट मल उत्पादन गरेको सहकारीले जनाएको छ । संस्थाका व्यवस्थापक नारायणबहादुर लामटाङ्गेले सहकारीबाट उत्पादित मल स्थानीय बजारमा बिक्री भएको बताउनुभयो । सहकारीले रिब्दीकोट–५, नयाँटोलामा कारखाना सञ्चालनका लागि तीन रोपनी जग्गा लिजमा लिएर त्यसभित्र मल उत्पादन र बिक्री गर्दै आएको छ । एक रोपनी क्षेत्रफलमा कारखाना सञ्चालन भएको छ र बाँकी जग्गामा पशुपालन र कृषि गर्ने योजना रहेको छ । 

अमृतबुटी जैविक मल नाम दिइएको यसमा वनमारा, तितेपाती र पहाडी झारपात मिलाइएको छ । कृषिविज्ञ यमबहादर दर्लामीले मल निर्माणका लागि बोनमिल, पिना, बायोब्याक्टेरिया, सुडोमोनस, ट्राइकोडर्मा, सिविड, क्याल्सियम, गोबर र प्रेस मड जैविक मलमा प्रयोग गरिएको जानकारी दिनुभयो । 

यसमा नाइट्रोजन एक प्रतिशत, फस्फोरस ०.५ प्रतिशत, पोटास एक प्रतिशत, चिस्यान २५ प्रतिशत, पिएच सात प्रतिशत रहेको छ । सहकारी संस्थाले यहाँ उत्पादन भएको मल विभिन्न सङ्घ संस्था, व्यापारी तथा किसानको माग अनुसार अन्यत्र पनि बिक्री गर्ने तयारी गरिएको जनाएको छ ।