• १८ असार २०८१, मङ्गलबार

पृथ्वीराजमार्ग विस्तारमा कमसल सामग्री प्रयोग

blog

पृथ्वीराजमार्ग विस्तारको क्रममा सामाग्री प्रयोग गरिदैँ । तस्बिर: अमरराज नहर्की

तनहुँ, जेठ ३१ गते । पृथ्वीराजमार्ग विस्तार कार्यमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएको छ । सम्झौता र मापदण्डविपरीत कमसल निर्माण सामग्री प्रयोग भएको पाइएपछि स्थानीयले विरोध गरेका छन् । 

गुणस्तरहीन सामग्री प्रयोग गर्नेको कारबाही हुनुपर्ने स्थानीयबासीले माग गरेका छन् । बढी फाइदा कमाउने उद्देश्यले सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेको स्थानीयले आरोप लगाएका छन् । राजमार्गमा निर्माण भइरहेका डाइभर्सन, कजवे तथा टेवा पर्खालमा कमसल खालको बलुवा प्रयोग भएको भन्दै स्थानीय बासिन्दाले खबरदारी गरेका छन् भने विभिन्न सङ्घ संस्थाहरुले विज्ञप्ति नै जारी गरी विरोध गरेका छन् ।

पृथ्वीराजमार्ग विस्तारका क्रममा निर्माणधीन संरचनाहरुमा गुणस्तरहीन सामग्री प्रयोग भईरहेको हुँदा उक्त कार्य तत्काल रोक्न स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँका अध्यक्ष  डम्बरबहादुर अधिकारी सम्बन्धित पक्षको ध्यानाकर्षण गर्नुभएको छ । अध्यक्ष अधिकारीद्वारा जारी विज्ञप्तिमा यस विषयमा प्रशासन र सडक डिभिजन कार्यालयले समेत ध्यान दिन माग गर्नुभएको छ । गुणस्तरहीन सामग्री प्रयोग गरिएको तस्बिरहरु स्थानीय सरोकारवालाहरुले सामाजिक सञ्जालमा राखेर व्यापक विरोध भइरहेको छ ।  

त्यस्तै व्यास नगपालिका ११ निवासी विवेक भट्टराईले सोमबार फेसबुकमा फोटोहरु पोष्ट गरेर विरोध गर्नुभएको छ । राजमार्ग बिस्तारका क्रममा निर्माणधिन पक्की संरचनामा प्रयोग भएको अति कमसल बालुवा भएकोले धेरै समय नटिक्ने उल्लेख गर्नुभएको छ । मसिनो बालुवा घरको प्लाष्टरको लागि प्रयोग हुने र जोडाइको लागि प्रयोग गर्न नहुने भट्टराई बताउनुहुन्छ । बालुवामा माटो मिसिएको र यस्तो सामग्री प्रयोग गरी निर्माण भएको संरचनाको गुणस्तर कस्ले जाँच गर्ने हो ? के पृथ्वी राजमार्ग जस्तो संवेदनशील क्षेत्रको आधारशिलाको नियति यस्तै हो ? आम सर्वसाधरण नागरिक जान्न चाहन्छन् भनी उल्लेख गरिएको छ ।

व्यास नगरपालिका–२ भोर्लेटारचोक, दमौली निवासी अन्जनकुमार श्रेष्ठले निर्माणका क्रममा गुणस्तरहीन बालुवा प्रयोग भएकोमा विरोध गर्नुभएको छ  । श्रेष्ठले रिटेनिङ वाल (टेवा पर्खाल) लगायतका अन्य संरचना निर्माण गरिँदा प्लाष्टर गर्ने खालको बालुवा प्रयोग हुनु चरम लापरवाही भएको श्रेष्ठ बताउनुहुन्छ । निर्माणको कार्य सम्बन्धित अनुगमनमा चासो नराखेकोेले ठेकेदारले लापरबाही गरेको श्रेष्ठ बताउनुहुन्छ । सम्बन्धित निकायले अनुगमन गरी काम गुणस्तरको बनाउन ध्यान दिन श्रेष्ठ सुझाव दिनुहुन्छ । 

मुग्लिन कोत्रे सडक विस्तार सम्बन्धित निकायको ध्यान कता ?  भन्दै श्रेष्ठले प्रश्न गर्नुभएको छ । ‘दिउँसै गुणस्तरहीन काम आफ्नै घर वरपर आफ्नै जिल्ला, क्षेत्रभित्र भइरहेको छ , सरोकार समिति कहाँ लुकेर बसेका छन् ?’ श्रेष्ठले प्रश्न गर्नुभयो ।  लापरबाही हुँदा पनि वास्ता नहुँदा निधाई रहेको महसुस गरेको उहाँले बताउनुभयो । बालुवा तथा राम्रो चोक्करसम्म प्रयोग गर्न सकिने ठाउँमा खुलमखुला प्लाष्टर बालुवाले लगाएको पाएको श्रेष्ठले बताउनुभयो । 

चिनियाँ ठेकेदार कम्पनीबाट नेपाली ठेकेदारहरूलाई पेटीमा काम बेचेको उहाँको भनाइ छ । यस्ता गतिविधि रोक्न सम्बन्धित निकायकलाई श्रेष्ठले आग्रह गर्नुभएको छ । स्थानीय सुदीप काफ्लेले प्लाष्टरको लागि पनि योग्य नभएको गुणस्तरहीन सामग्री प्रयोग हुँदा सरोकारवाला निकाय कानमा तेल हालेर बसेको आरोप लगाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले कामको गुणस्तर परीक्षण हुने बताउनुभयो । ‘ल्याब टेष्ट गछौं गुणस्तरहीन भएमा कारबाही हुन्छ’ प्रजिअ आचार्यले भन्नुभयो । कमशल काम भएको भनी मौलिक तथा लिखित उजुरी नआएको उहाँले बताउनुभयो । ‘मुख्य जिम्मेवारी आयोजना प्रमुख हो तपाईले जानकारी दिनुभयो हामी तुरुन्त अनुगमन गछौं’ प्रजिअ अर्यालले भन्नुभयो । सडक डिभिजन  कार्यालय दमौलीकी प्रमुख लक्ष्मी केसीले आफ्नो कार्य क्षेत्र अन्तर्गतको काम नभएको जानकारी दिनुभयो । हाम्रो क्षेत्र भनेको आँबुखैरेनीदेखि मुग्लिनसम्मको मात्रै हो यो क्षेत्रमा काम भएपछि भने ध्यान दिएर अनुगमन गछौं’ केसीले भन्नुभयो । 

पृथ्वीराजमार्गको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।  मुग्लिङ–पोखरा सडक विस्तारकार्य अन्तर्गत पश्चिम खण्डबाट पनि सुरु भइसकेको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्शन कम्पनीले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।

Author

अमरराज नहर्की