काठमाडौँ, माघ १० गते । उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता भूपेन्द्र गुरुङलाई न्युयोर्क स्टेट एसेम्बलीले सम्मान गरेको छ ।
खेलकुद क्षेत्रमा हासिल गरेको उपलब्धीका लागि सम्मान प्रदान गरिएको भूपेन्द्रले जनाउनुभएको छ । मेम्बर अफ एसेम्ब्ली स्टिभन बी. रागाले भूपेन्द्रलाई सो सम्मान प्रदान गर्नुभयो ।
राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका स्वर्ण विजेता भूपेन्द्रले अमेरिका, युके र जर्मनीमा भएका विभिन्न सात अन्तर्राष्ट्रिय प्रतियोगितामा १३ स्वर्ण र दुई रजत पदक जित्नुभएको छ ।
उहाँले जर्मनीमा भएको १२औँ विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण, अमेरिकामा भएको ब्याटल अफ दि ड्रागन विश्व च्याम्पियनसिपमा दुई स्वर्ण र युकेमा भएको उमा युरोपियन च्याम्पियनसिपमा तीन स्वर्ण जितेको थियो ।
त्यस्तै, युकेमा भएको आईएमएसी खुला प्रतियोगितामा दुई स्वर्ण, अमेरिकामा भएको छैटौँ बक्स काउन्टी मार्सल आर्ट्स च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत, युकेमा भएको उमा युरोपियन च्याम्पियनसिपको अर्को संस्करणमा एक स्वर्ण तथा १४औँ विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा दुई स्वर्ण र एक रजत जित्नुभएको छ ।
नेपाल उमा कुङफु संघका उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक भूपेन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरिसक्नुभएको छ ।