• १० माघ २०८२, शनिबार

म्याग्दीमा हिमपात

blog

म्याग्दीको उच्च क्षेत्रमा भएको हिमपात । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, माघ १० गते ।
हिमाली जिल्ला म्याग्दीको माथिल्लो क्षेत्रमा शुक्रबार रातिदेखि हिमपात भएको छ । माथिल्लो क्षेत्रको बस्तीमै यस वर्षको पहिलो हिमपात भएको हो ।

जिल्लाको तल्लो क्षेत्रमा वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि हिउँदेबाली राम्रो हुने छ । कृषि विकास कार्यालय म्याग्दीका बरिष्ठ कृषि विकास अधिकृत सञ्जिब बाँस्तोलाका अनुसार लामो समयसम्म वर्षा र हिमपात नहुँदा हिउँदेबाली र तरकारी खेती सुक्न लागेको थियो ।

जिल्लाका मालिका गाउँपालिका, धौलागिरी गाउँपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका माथिल्लो क्षेत्रमा हिमपात भएको छ । बेनी नगरपालिका, मंगला गाउँपालिका आसपासमा हल्का वर्षा भइरहेको छ ।

धवलागिरी गाउँपालिका २ लुलाङका शिक्षक दर्पण रोकाले हल्का वर्षासँगै हिमपात भएका कारण माथिल्लो क्षेत्रमा बस्ती नै सेताम्मे भएको बताउनुभयो ।

लामो समयसम्म वर्षा र हिमपात नहुँदा खेतीबाली राम्रो नहुने भयो भनेर स्थानीय चिन्तित थिए यो हिमपात र वर्षाले केही राहत भएको छ रोकाले सुनाउनुभयो । वर्षासँगै हिमपात भए पछि चिसो पनि निकै बढेको छ । मौसममा आएको परिवर्तनसँग चिसो बढेपछि वृद्धवृद्धा र बालबालिकालाई सतर्कता अपाउन अनुरोध गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय म्याग्दीले हिमपात र वर्षाले कृषिजन्य बस्तुको उत्पादनमा सघाउने जनाएको छ ।  माघ महिना लाग्दासमेत वर्षा र हिमपात नहुँदा खेतीपातीमा असर गरिरहेको अवस्था शनिबार सामान्य वर्षासँगैको हिमपातले किसानले राहत महसुस गरेको बाँस्तोलाले बताउनुभयो । हिउँदे बालीका लागि यो वर्षाले निकै राम्रो गर्ने उहाँले जानकारी दिनुभयो ।