• २५ जेठ २०८२, आइतबार

पशुका लागि नमुना अस्पताल

blog

भरतपुरमा निर्माण भएको आधुनिक पशु अस्पताल ।तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, जेठ २५ गते । चितवनको भरतपुरमा पशुपक्षीका लागि विशिष्टीकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माण भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लगानीमा आधुनिक भेटेरिनरी अस्पताल निर्माण गरिएको हो । सबै प्रजातिका पशुचौपाया, पक्षीको आधुनिक उपचार गर्ने गरी अस्पताल निर्माण कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता सुरज कँडेलले जानकारी दिनुभयो । अस्पताल निर्माण पूरा भए पनि अन्तिम चरणको काम बाँकी रहेको उहाँले बताउनुभयो । 

मन्त्रालयका पशुपक्षी विकास महाशाखा प्रमुख डाक्टर रामप्रकाश प्रधानले प्रदेशकै नमुना अस्पताल भएकाले यसको महत्त्व अलग्गै रहेको बताउनुभयो । यस अस्पतालबाट विशिष्टीकृत सेवा दिने गरिन्छ । पशुचौपाया, पन्छीको रगत परीक्षण, एक्सरे, भिडियो एक्सरे, छालाको परीक्षण, गोबर परीक्षण, गर्भ परीक्षण, बिरामी पशुको एन्टिबायोटिक परीक्षण गरेर उपयुक्त एन्टिबायोटिक औषधी दिने विधिलगायत धेरै सुविधा प्रदान गर्ने गरी अस्पताल निर्माण भएको उहाँले बताउनुभयो । 

यस किसिमको सेवा दिने गरी प्रदेशमा कुनै अस्पताल निर्माण भएको छैन । भवन निर्माण पूरा भएको भए पनि केही सामग्री जडान गर्नुपर्ने र अन्य प्राविधिक काम बाँकी रहेकाले आउँदो आर्थिक वर्षबाट मात्र सञ्चालन गर्ने तयारी गरेको छ । मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीले आउँदो आवबाट सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो । “हामीले यो अस्पताललाई मन्त्रालयको गौरवको योजनाका रूपमा लिएका छौँ,” उहाँले भन्नुभयो, “यस अस्पताल सञ्चालन भएपछि यस क्षेत्रका किसानले धेरै सुविधा पाउने छन् ।” 

पशु सेवा कार्यालयका प्रमुख सुशील केसीले आधुनिक सेवा दिने गरी निर्माण भएको अस्पतालले धेरै सुविधा दिने बताउनुभयो । अहिले भइराखेको सेवाभन्दा धेरै सुविधा हुने छ ।