• २४ जेठ २०८२, शनिबार

झिमरुक गाउँपालिकामा खानेपानीको गुणस्तर नमुना परीक्षण

blog

झिमरुक गाउँपालिकाले पालिका भित्र खानेपानी आयोजनाको खानेपानी गुणस्तर नमुना परीक्षण गरिँदै । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ 
प्युठान, जेठ २४ गते ।
झिमरुक गाउँपालिकाले पालिकाभित्र रहेका खानेपानी आयोजनाको खानेपानी गुणस्तर नमुना परीक्षण गरेको छ । पालिका भित्रका ७३ वटा आयोजनाको खानेपानीको गुणस्तर नमुना परीक्षण गरिएको हो ।

झिमरुक गाउँपालिकाका १, २, ६, ७ र ८ वडामा रहेका आठ वटा सामुदायिक विद्यालयका २० वटा खानेपानी योजना, ५० वटा खानेपानी आयोजना र तीन वटा स्वास्थ्य संस्था गरी ७३ वटा खानेपानी आयोजनाहरूको खानेपानी गुणस्तरको नमुना परीक्षण गरिएको गाउँपालिकाका खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा प्रमुख शीतल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नमुना परीक्षणमा पानीको भौतिक, रासायनिक र जैविक परीक्षण गरिएको हो ।

भौतिक परीक्षणमा पानीको धमिलोपना तथा हाइड्रोजन विभव (पिएच), रासायनिक परीक्षणअन्तर्गत पानीको कडापन, फस्फेट, आइरन, एमोनिया, कोलोराइड, तथा जैविक परीक्षण अन्तरगत फौकल, कोलिफर्म, इकोलीको परीक्षण गरिएको छ । जसमा अधिकांश पानीको नमुनाहरुमा फौकल, कोलिफर्म, इकोली देखिएको छ । केही पानीको नमुनामा हाइड्रोजन विभव (पिएच) को मात्रा नेपाल खानेपानी गुणस्तर मापदण्ड २०६२ ले तोके भन्दा कम गुणस्तरको देखिएको  खानेपानी, सरसफाइ तथा स्वच्छता विज्ञ शरदचन्द्र केसीले जानकारी दिनुभयो ।

खानेपानीको नमुनाहरूको गुणस्तर परीक्षणको साथसाथै खानेपानीको महत्त्व, सरसफाइ र स्वच्छता तथा आवश्यकता र दूषित खानेपानीका कारणले मानव स्वाथ्यमा पार्ने असर र न्यूनीकरणको विषयमा समेत जानकारी दिने गरिएको शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।

झिमरुक गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत खानेपानी गुणस्तर परीक्षण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत पाँच वटा वडाहरूमा सम्पन्न भइसकेको र अन्य वडामा यसै आर्थिक वर्ष भित्रमा सकिने पालिकाले जनाएको छ ।