टोपलाल अर्याल
रेसुङ्गा, जेठ २४ गते । इन्द्रविर पौवा । ठ्याक्कै बनेको मिति रेकर्डमा छैन । तर धागिथुमका इन्द्रवीर थापाले बनाउनुभएको थियो । उहाँका सन्तान अझै छन् । इन्द्रवीरका नाति ८१ वर्षीय तिलबहादुर थापाका अनुसार पौवा र पोखरीसँगै थिए । इन्द्रवीर थापाले बनाएको भएर सबैले इन्द्रपौवा भने । त्यो बेला तम्घासमा बजार र सडक विस्तार भएको थिएन । आफुले जाने अनुसार डेढ सय वर्षभन्दा पुरानो पौवा रहेको थापाले बताउनुभयो । विशेष गरेर बटुवा बस्न, लाश राख्न, किरियापुत्री बस्न र बेवारिसे मान्छेका लागि पौवा निकै उपयोगी थियो । अस्थायी रूपमा प्रहरी समेत पौवामा बस्यो ।
तत्कालीन समयमा पौवा खरले छाएको थियो । विस्तारै आफुहरूले जस्ताले छाउने र आवश्यक संरक्षण गर्दै आएको भए पनि बजार बढ्दै गएपछि भत्काइएको तिलबहादुरले बताउनुभयो । उहाँका अनुसार इन्द्रवीरले बाग्लुङ्गमा पनि २२ वटा झोलुङ्गे पुल निर्माणको नेतृत्व गर्नुभएको थियो । त्यो बेला पौवा बनाउने, पोखरी खन्ने, चौपारी बनाउने, रुख रोप्ने विषयलाई धर्मसँग जोडिन्थ्यो ।
त्यहि भएकाले इन्द्रवीरले पौवा बनाएको आफुले बाउबाजेबाट सुन्दै आएको थापाले सुनाउनुभयो । उहाँले भन्नुभयो, “अहिले धर्मकर्म र पौवा पोखरी हराएर गए । त्यो बेला पौवा घर नहुनेका लागि दरबार थियो ।” स्थानीय कालिगडले बनाएका प्राचीन संरचना हट्दै गएकाले दुःख लाग्ने गरेको तिलबहादुरले गुनासो गर्नुभयो ।
इन्द्रपौवा भएकै ठाउँमा रेसुङ्गा नगरपालिकाले अहिले फल्चा निर्माण गरेको छ । नगरपालिकाको १० लाखको लागतमा काफलपानी निर्माण सेवामार्फत कैदीबन्दीहरूले फल्चामा उत्कृष्ट काष्ठकला प्रयोग गरेका छन् । आफुहरूले बाहिर निर्माण गर्दा लाग्ने लागतको ५० प्रतिशत कममा काम गरेको जिल्ला कारागारका कालिगढ समेत रहनुभएका चौकीदार हरि थापाले जानकारी दिनुभयो ।
काष्ठकला र फर्निचरको काममा अब्बल बन्दै गएको गुल्मी कारागारबाट वार्षिक साढे तीन करोडको विभिन्न उत्पादन तथा बिक्री वितरण हुने गरेका छन् । कारागारबाट कैदीबन्दीले न्यूनतम सात हजारदेखि ४५ हजारसम्म कमाउने गरेको थापाले बताउनुभयो । उहाँले विद्यालय, मन्दिर, गाउँपालिका भवन, सभाहललगायतका ठाउँहरूमा कारागारको सीप प्रयोग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “फल्चामा पनि उत्कृष्ट मिहिनेत गरेका छौँ । सस्तो र गुणस्तरीय भएकाले फल्चाबाहेक थुप्रै सरकारी संरचनामा कैदीबन्दीको सीप पुगेको छ ।”
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आधुनिकताका नाममा पुराना कला र संस्कृतिहरू लोप हुँदै गएपछि पौवाको ठाउँमा फल्चा निर्माण गरिएको बताउनुभयो । कैदीबन्दीहरूको सीपको प्रर्दशन र स्थानीय सामग्रीको उपयोगबाट पुरानै काष्ठकला मार्फत फल्चा निर्माण गरिएको प्रमुख पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नीति कार्यक्रममै काष्ठ र धातुकलाको प्रयोगलाई प्राथमिकता दिने उल्लेख छ । पुरानो पैवाको ठाउँमा अहिले काष्ठकलाको प्रयोग गरेर फल्चा निर्माण गरेका छौँ ।”
कारागारमा सबैभन्दा बढि मूल्य पर्ने अष्टनागको आकृतिसहित सालको काठको चौकोश निर्माण हुन्छ । जसको मूल्य आठ लाख रहेको छ । एउटा चौकोश निर्माण गर्न तीन जना जनशक्तिले एक महिनामा काम गर्नुपर्छ । त्यस्तै भक्तपुरे आँखी झ्याल, फोटो फ्रेम, दराज टेवलसहितका आवश्यक सवै फर्निचर सामग्री निर्माण गर्ने गरिएको छ ।