• २४ जेठ २०८२, शनिबार

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने

blog

काठमाडौँ,  जेठ २४ गते । खानेपानीमन्त्री प्रदीप यादवले घनाजनघनत्व भएका सहरी क्षेत्रका साथै अन्य सहरी इलाकाको वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ । 

 विश्व वातावरण दिवसका सन्दर्भमा मारवाडी युवा मञ्चद्वारा ‘वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिबद्धता’नाराका साथ आज यहाँ आयोजित साइकल र्‍यालीको उद्घाटन गर्दै उहाँले लामो समयसम्म हुने जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीबाट जोेगिन साइकलको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको हो । 

व्यक्तिगत एवं सामूहिक रूपमा धुवाँ उत्पादन गर्ने इन्धनरहित हरित सवारी साधन प्रयोग गर्नुपर्ने तथा स्वच्छ ऊर्जाको उपयोग बढाएर हरित संसार निर्माणको परिकल्पनालाई साकार गर्नसकिने विचार मन्त्री यादवले व्यक्त गर्नुभयो । 

सरकारले वातावरणमैत्री यातायातको प्रवर्धनका निम्ति नीति तथा पूर्वाधारमा लगानी गर्ने बताउँदै उहाँले विद्यालय, कार्यालय, तथा स्थानीय तहहसमेत साइकल प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ भन्नभयो । वातावरण संरक्षण तथा प्रदूषणमुक्त समाज बनाउन मारवाडी सेवा समाजले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।


उहाँले भन्नुभयो, “जलवायु परिर्वतनका कारण सेता हिमाल काला हुन थालेका छन् । हिमाल बचाउन जरुरी छ । जलवायु परिर्वतनका कारण उत्पन्न  चुनौतीको सामूहिक रूपमा सामना गर्न आवश्यक छ ।”

मारवाडी सेवा समितीका अध्यक्ष प्रमोदकुमार चौधरीले साइकल प्रयोग गर्नाले व्यक्तिगत तन्दुरुस्ती बढ्नुका साथै यसले शहरको ध्वनि र वायु प्रदूषण पनि घटाउने बताउनुभयो । रासस