ज्ञानु पंगेनी
मध्यविन्दु , जेठ २३ गते । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व ( नवलपुरको ) विनयी त्रिवेणी गाउँपालिकाको दुम्किवास स्थित विनयी खोलामा एक्कासि बाढी आउँदा सवारी आवागमन बन्द भएको छ ।
शुक्रवार अपराह्न ४ः२५ बजेतिर विनयी खोलमा बाढी आउँदा सवारी आवागमनका लागि बनाइएको डाइभर्सन बगाएपछि बाटो अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मधु नेपालले दिनुभएको जानकारी अनुसार बाढीका कारण खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पूर्ण रूपमा बगाएको र दुवै तर्फका सवारी साधन रोकिएको छ ।
अहिले यात्रुवाहक सवारी तथा साना हलुका सवारी साधनलाई होङ्सी गेटबाट वैकल्पिक मार्ग हुँदै गन्तव्य तर्फ पठाइएको र मालवाहक सवारी साधनहरूलाई एक लेनमा रोकी व्यवस्थापन गरिएको नेपालले जानकारी दिनुभएको छ । बाढी कम भएपछि मात्रै डाइभर्सन मर्मत गरी सडक खुलाउन सकिने उहाँले बताउनुभयो ।
खोलाको सिरान क्षेत्रमा पानी परेका कारण बाढी आएको हो ।
विनयी खोलाको पुल भाँचिएका कारण यहाँ डाइभर्सन मार्फत आवतजावतको व्यवस्था मिलाइएको छ ।