• २४ जेठ २०८२, शनिबार

उत्पादन बढाउन बजेट केन्द्रित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २३ गते । सरकारको आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा राष्ट्रिय सभाका सदस्य सत्तापक्ष र विपक्षमा विभाजित भएका छन् । सत्तापक्षका सदस्यले बजेट उत्पादन बढाउने, रोजगारी सिर्जना गरेर समृद्धि हासिल हुनेमा केन्द्रित भएको बताउनुभएको छ । सत्ताइतरका सदस्यले भने बिचौलिया र पुँजीवादलाई प्रश्रय दिने बजेट आएको टिप्प्णी गर्नुभयो । 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलक्रममा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठले सरकारले ल्याउने बजेट राम्रो र कर्णप्रिय हुने भए पनि त्यसको कार्यान्वयन, पुँजीगत खर्चको न्यून उपयोग र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर अगाडि बढे बजेटले लिएको लक्ष्य पूरा हुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट अत्यन्तै महत्वाकाङ्क्षी नभएर देशको समसामयिक आर्थिक चुनौती समाधान गर्ने प्रयास गरेको छ । यसको कार्यान्वयनका लागि सबै पक्ष एकजुट हुन जरुरी छ ।”

नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित सभाका सदस्य मायाप्रसाद शर्माले दलाल पुँजीवादलाई प्रश्रय दिने बजेट रहेको दाबी गर्नुभयो । उहाँले वैदेशिक ऋण लिनुभन्दा आन्तरिक राजस्व सङ्कलनका लागि बजेटले लिएको लक्ष्य प्राप्त गर्ने गरी राजस्व चुहावट रोक्नुपर्ने सुझाव दिनुभयो । 

नेकपा (एकीकृत समाजवादी) का मदनकुमारी शाह गरिमाले विकास भनेको चौडा सडक र ठुला भवन मात्रै नभई सामाजिक मूल्य मान्यताको नवीन विकास गर्न नसके त्यस्ता विकासको कुनै अर्थ नहुने टिप्पणी गर्नुभयो । उहाँले बजेट लैङ्गिक उत्तरदायीमैत्री नरहेको दाबी गर्नुभयो । 

लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहले कृषि, खानेपानी र ऊर्जालगायतका क्षेत्रको समस्या बजेटले सम्बोधन गरेको बताउनुभयो । सभाका सदस्य वामदेव गौतमले सामूहिक उत्पादन र सामूहिक स्वामित्वबाट समाजवाद आउने हुनाले बजेट सो विषयमा मौन रहेको दाबी गर्नुभयो । 

राष्ट्रिय सभाका सदस्य विष्णुबहादुर विश्वकर्माले बजेटमा रासायनिक मल खरिद अनुदानका लागि २८ अर्ब ४१ करोड छुट्याइएकोमा सो बजेटको केही प्रतिशत मात्रै लगानी गरे रासायनिक मल उत्पादन गर्ने उद्योगै सञ्चालन गर्न सकिने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “वर्षैपिच्छे अर्बौं बजेट मल खरिद गर्न अनुदानमा खर्चेका छौँ । कारखाना सञ्चालन किन हुँदैन ? मलाई शङ्का लागेको छ ।”

राष्ट्रिय सभाका सदस्य विष्णुदेवी पुडासैनीले बजेटले शिक्षित युवालाई उद्यमशील बनाउन २० लाखसम्म ऋण दिने योजना कार्यान्वयन गर्न सकियो भने युवाले काम खोज्दै बिदेसिने अवस्था मुक्त भई अन्य युवालाई पनि रोजगारी दिन सकिने बताउनुभयो । 

राष्ट्रिय सभामा गत बुधबारबाट सुरु भएको आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमानमाथिको छलफल आगामी बैठकमा समेत जारी रहने सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी गराउनुभयो । सभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।