काठमाडौँ, जेठ २२ गते। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार नगरेको बताउनुभएको छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो दाबी गर्नुभएको हो।
उहाँले आफ्नो एउटै सिद्धान्त नबिराउनु र नडराउनु रहेको बताउनुभयो। उहाँले आफूले कुनैपनि भ्रष्टाचार नगरेको भन्दै राजनीतिक प्रतिशोधका रुपमा मुद्दा चलाइएको आरोप लगाउनुभयो।
अध्यक्ष नेपालले भन्नुभयो, ‘न बिराउनु, नडराउनु। मैले भ्रष्टाचार गरेको छैन, चुनौतीका साथ भन्छु, राजनीतिक प्रतिशोधका रुपमा आएको भन्ने सिधै देखिन्छ, होइन भने अरु कुरा कानुनी कुरा रहे।’
पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्व प्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालसहित आरोपीलाई पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको छ।