काठमाडौँ, जेठ २२ गते । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध अन्त्य गर्नका लागि प्रतिपक्षी दलहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रतिपक्षीको निरन्तरको अवरोधका कारण बजेटमाथिको बहस प्रभावित हुनुको साथै महत्त्वपूर्ण विधेयकहरू अघि बढाउन नसकिएको बताउनु भयो । सङ्घीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिएको निजामती विधेयक पास गर्ने विषय पनि प्रतिपक्षीको अवरोधका कारण रोकिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘प्रतिपक्षी दलहरूले निरन्तर संसदमा अवरोध सिर्जना गर्दा बजेटजस्तो महत्त्वपूर्ण विषयमा छलफल गर्ने कुरा प्रभावित भयो । अहिले हामी सङ्घीय निजामती सेवा विधेयक पनि पास गर्ने तयारी पुगिसक्थ्यौँ । सङ्घीयता कार्यान्वयनको लागि यो महत्त्वपूर्ण विधेयक हो । यो कुरामा प्रमुख प्रतिपक्षीसहितका विपक्षी पार्टीहरू जिम्मेवार बनुन् भन्ने फेरि पनि हाम्रो आग्रह छ । भोलि १ बजेसम्म उहाँहरूले आफूलाई रिभ्यू गर्नुहुनेछ । भोलिदेखि हाउसलाई अगाडि बढाउन सहयोगी भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास र अपेक्षा छ ।’
भिजिट भिसाको आवरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने, उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरोध गर्दै आएका छन् । निरन्तरको संसद् अवरोधका कारण अगामी आर्थिक वर्षको आय र व्ययको अनुमानमाथिको छलफल प्रभावित भएको छ ।