काठमाडौँ, जेठ २२ गते । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानबिन गर्न सरकार तयार नभएसम्म संसद् नखुल्ने टिप्पणी गर्नुभएको छ ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक पाण्डेले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले भिजिट भिसा प्रकरणमा विभिन्न एजेन्सीहरूको समेत संलग्नता देखिएको उल्लेख गर्दै छानबिनका लागि सरकार तयार हुनुपर्ने बताउनु भयो । अख्तियारले केही कर्मचारीमाथि छानबिन गरिरहेको भए पनि मानव तस्करीको व्यापक सञ्जालबारे उच्चस्तरीय छानबिन हुनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सुशासनको मुद्दामा त सबै एकै ठाउँमा हुनुपर्यो नि । भिजिट भिसामा त नेपालका धेरै जनता जानुहुन्छ नि । त्यहाँ गैर कानुनी ढङ्गले जाने विषयवस्तु जुन व्यापक रूपमा आइरहेको छ यो उठाउन खोजेको हो हामीले । त्यही विषयमा छानबिन समिति बनाऔँ भन्ने हाम्रो माग हो । उहाँहरू अख्तियारले त छानबिन गराइहाल्छ नि भन्नुहुन्छ । त्यो त एक दुई कर्मचारीको विषयमा छानबिन भइरहेको होला । तर भिजिट भिसामा त विभिन्न एजेन्सीहरू पनि लागे भन्ने छ नि । त्यसको लागि भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानबिन हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग राख्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।