• २३ जेठ २०८२, शुक्रबार

आजदेखि मह मेला सुरु

blog

काठमाडौँ,  जेठ २२ गते । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि छैटौँ राष्ट्रिय मह मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले सरकार किसानको साथमा रहेको उल्लेख गर्दै उत्पादन बढाउनतर्फ लाग्न आग्रह गर्नुभयो । 

नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेड र व्यावसायिक किट विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको मह मेलाको सहआयोजकमा मौरी विकास केन्द्र गोदावरी, मौरीपालन विकास केन्द्र भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवन, जिम्याप नेपाल रहेको छ । 

मन्त्री अधिकारी भन्नुभयो, “सक्नेले दैनिक एक चम्चा मह खानुस्, स्वास्थ्यलाई फाइदा र मौरीपालक किसानका लागि पनि सहयोग हुन्छ, नेपाली उत्पादनलाई हामीले प्रोत्साहन नदिने हो भने कसले दिने रु”

नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेले मुख्य गरी मौरीपालक किसानका लागि चरनको भरपर्दो व्यवस्था र बजारीकरण मुख्य समस्या रहेको बताउँदै त्यसको उचित सम्बोधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले किसानले मौरी पालेर परागशेचनमा सहयोग गरेवापत सरकारले प्रतिघार एक हजार रोयल्टी दिन जरुरी रहेको बताउँदै एक पालिकाबाट अर्को पालिकामा मौरी लैजान भइरहेको अवरोध हटाउन माग गर्नुभयो । अध्यक्ष घिमिरेले मौरी चराउन लगिएको ठाउँमा विभिन्न समूह तथा सामुदायिक वनले चन्दा माग्ने गरेको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

महाङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले सरकारसँग विगतमा भएको सम्झौता पूर्ण कार्यान्वयन गर्न तथा आयात हुने महको भन्सार दर बढाउन आग्रह गर्नुभयो । उहाँले काठमाडौँमा महको मार्ट नै खोजेर बजारीकरणका लागि काम गर्न लागिएको जानकारी दिनुभयो । 

महासङ्घका पूर्वअध्यक्ष राजेन्द्र गौतमले मौरी चराउन जाँदा कुनै ठाउँमा राखियो भने प्रतिघारमै सामुदायिक वनले ३५० सम्म लिने गरेको भन्दै यसरी शुल्क उठाउन रोक लगाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली उत्पादन राम्ररी बिक्री नहुने तर बाहिरबाट वार्षिक चार हजार मेट्रिकटन मह आयात हुने अवस्थाको अन्त्य जरुरी रहेको बताउनुभयो । उत्पादनमा आधारित अनुदान दिँदै महको बजारीकरणमा सरकारको सहयोग जरुरी रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा व्यावसायिक किट विकास केन्द्रकी पूर्णिमाया क्षेत्री, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडकी अध्यक्ष जानुका थापा, उपाध्यक्ष कृष्णहरि जमरकट्टेल, विष्णुप्रसाद भट्टराईलगायतले धारणा राख्नुभएको थियो ।

यही जेठ २३ गतेसम्म चल्ने मेलामा देशभरबाट आएका मह किसानका ४० वटा स्टल छन् । यहाँ मुख्यगरी सातै प्रदेशमा उत्पादित मह तथा मौरीजन्य उत्पादनहरु प्रदर्शनीमा राखिएका छन् । 

महका परिकार, मौरी र महसम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया, नेपालमा पाइने मौरी तथा महको प्रदर्शनीका कार्यक्रमसमेत रहेका छन् । यहाँ एक लाख अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष राखिएको छ ।