• २३ जेठ २०८२, शुक्रबार

राज्यलाई हानी पुर्‍याउने कुनै काममा मेरो संलग्नता छैन : पूर्व प्रधानमन्त्री नेपाल

blog

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।

प्रवीणकुमार शर्मा 

चन्द्रपुर (रौतहट), जेठ २२ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले  कुनै किसिमको अनुचित कार्य नगरेको बताउनुभएको छ।

शुक्रबार गृह जिल्ला रौतहटमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले भ्रष्टाचार जन्य कार्यमा आफ्नो सहभागिता नरहेको तथा त्यस्तो कार्य गर्न कसैलाई कहिल्यै निर्देशन समेत नदिएको  प्रतिक्रिया दिनुभएको हो।

बिहीबार गृह जिल्ला रौतहटमा हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि पूर्व प्रधानमन्त्री नेपालले आफूबाट आरोप लगाइए अनुसारको कुनै कार्य नभएको तथा बदनियत ढङ्गबाट आफूविरुद्ध षड्यन्त्र रचिएको बताउनुभयो ।

काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा आयोगले उहाँहरूविरुद्ध मुद्दा दायर गरेको हो । 

उक्त कम्पनीका संस्थापक सदस्य शालीग्राम सिंहसमेतले उक्त कम्पनीको नाम प्रयोग गरी/गराई कम्पनीको उद्देश्यको प्रतिकुल हुने गरी बदनियत राखी आफूसमेतका प्रतिवादीहरूलाई लाभ हुने गरी अन्य सरकारी सार्वजनिक पदधारण गरेका व्यक्तिसँगको मिलोमतोमा उक्त जग्गा खरिद प्रकरणमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा १० विपरितकार्य भएको आयोगको ठहर छ । 

सो प्रकरणमा सम्बन्धित निकायका व्यक्ति तथा राष्ट्रसेवकले आफ्नो पदीय ओहोदाको दुरुपयोग गरी गराई आफ्नो जिम्मामा रहेको सरकारी सार्वजनिक सम्पत्तिको सम्बन्धमा निर्णय बदनियत राखी गैरकानुनी निर्णय गरेको देखिएको आयोगले जनाएको छ । 

आयोगले उक्त हदभन्दा बढी जग्गा सोही ऐनको दफा ११ बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने दाबी गरेको छ । अख्तियारले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।