• २३ जेठ २०८२, शुक्रबार

विपद्को सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक

blog

गृहसचिव गोकर्णमणि दुवाडी

काठमाडौँ, जेठ २२ गते । गृहसचिव गोकर्णमणि दुवाडीले विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य बढाउनुपर्ने बताउनुभएको छ।

स्विजरल्यान्डको जेनेभामा जुन २ देखि जुन ६ सम्म सञ्चालन सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी प्लेटफर्मलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

जलवायु परिवर्तन तथा प्रकोप न्यूनीकरणका लागि वित्तीय प्रवाह बढाउने विषयको मन्त्रीस्तरीय बैठकमा उहाँ सहभागी हुनुहुन्छ ।

सचिव दुवाडीले विपद् जोखिमको पूर्वतयारी र त्यसको कार्यान्वयनका लागि नेपालको स्थितिको बारेमा जानकारी गराउनुभयो । 

त्यसअवसरमा उहाँले नेपालमा विभिन्न प्राकृतिक जोखिम रहेको उल्लेख गर्नुहुँदै यसको पूर्व तयारी र समाधानका लागि नेपाल सरकारले उच्च प्राथमिकताका साथ आफ्नो प्रयास र कार्यलाई निरन्तरता दिएको बताउनुभयो । 

सम्मेलनमा विश्वभरिका विपद् व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणका विविध विषयमा छलफल तथा सम्बन्धित मुलुकको असल अभ्यासलाई प्रस्तुत गरिएका थिए । 

विश्वमा विपद् व्यवस्थापनका लागि चलेका असल अभ्यास र एक अर्कामा गर्नुपर्ने सहयोगका विषयमा समेत यस प्रकारका सम्मेलन फलदायी हुने आस गरिएको छ । 

यसअघि सो सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तरनिकाय समन्वय तथा विश्वव्यापी सहकार्यको आह्वान गर्नुुहुँदै विपद् स्वयंसेवक तथा विपद् सूचकमार्फत विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्तिका साथसाथै व्यवस्थापनमा सहकार्य र सहजता आउने बताउनु भएको थियो ।