• २३ जेठ २०८२, शुक्रबार

सबै पार्टी र सबै नेताहरू एकै हुन् भन्नु नै गलत: सञ्चार मन्त्री गुरुङ

blog

सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ । तस्बिरः मन्त्रीको सचिवालय

भक्तपुर, जेठ २२ गते । सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सबै पार्टी र नेताहरू एकै हुन् भन्ने गलत भाष्य निर्माण गर्न नहुने बताउनुभएको छ । 

नेकपा एमाले बाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै गुरुङले नेकपा एमाले अन्य पार्टी र एमालेका नेताहरू अन्य पार्टीका नेता भन्दा फरक भएका बताउनुभयो । एमाले विचार र दृष्टिकोणमा सबैभन्दा अब्बल पार्टी भएको उहाँले दाबी गर्नुभयो । 

एमाले नेपालमा सबैभन्दा उत्कृष्ट विचार र दृष्टिकोण भएको पार्टी भएको उहाँको दाबी छ । यति हुँदाहुँदै पनि पार्टी भित्र देखिएको साङ्गठनिक अराजकता र दक्षिणपन्थी अवसरवादका कारण एमाले कमजोर बन्दै गएको उहाँले धारणा राख्नु भयाे  । पार्टी भित्र कम्युनिस्ट पार्टीका पाँच प्रमुख सिद्धान्त कमजोर हुँदा अराजकता र अवसरवाद मौलाउँदै गएको उहाँले बताउनुभयो । ‘त्यसैले हाम्रो कार्यशैली र आचरणमा सुधार हुन आवश्यक छ, जहाँ कमजोरी र अनुशासन हीनता देखिएको छ त्यसलाई फाल्नु पर्छ, एमाले हार्छ भने आफ्नै कारणले हार्छ, अरू कसैले हराउन सक्दैन’, उहाँले भन्नुभयो । 

आफूले टिकट पाउँदा ठिक, नपाउँदा सबै बेठिक हुने आत्म केन्द्रित विचार बोक्ने पार्टीका नेता कार्यकर्ताले पार्टी समाप्त हुने उहाँको भनाइ छ । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने व्यक्ति केन्द्रित विचारले पार्टी अघि नबढ्ने उहाँले बताउनुभयो ।  

यसलाई अन्त्य गर्न एमालेले शुद्धीकरण अभियान चलाएको भए पनि त्यो अभियान सफल हुन नसकेको उहाँले बताउनुभयो । त्यसैले पार्टी सोचे जसरी अघि बढ्न नसकेको उहाँको भनाइ छ ।  

उहाँले यति हुँदा हुँदै पनि निराश हुने अवस्था नरहेको बताउनुभयो । कम्युनिस्टहरू सधैँ आशावादी हुने भएकोले आशा र विश्वासका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

एमाले, कांग्रेस र माओवादीको एजेन्डा छुट्टिएन भन्ने आरोप अहिले जनस्तरबाट लागेको बताउँदै उहाँले त्यसमा भिन्नता देखिनुपर्ने बताउनुभयो । यसका लागि सबैभन्दा बढी पार्टीबाट निर्वाचित जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

कहिल्यै पनि हार नमान्ने मान्छे मात्र सफल हुने बताउँदै उहाँले दृढ सङ्कल्पका साथ लाग्ने मात्र लक्षमा पुग्ने धारणा राख्नु भयो । एमाले अध्यक्ष केपी ओलीमा त्यो गुण भएको उहाँले बताउनुभयो ।