अस्मिता पोखरेल
धादिङबेँसी, जेठ २२ गते । धादिङको ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । करिब १२ करोड ३५ लाख रुपियाँको लागतमा निर्माण हुन लागिएको उक्त भवनको बिहीबार शिलान्यास गरिएको हो ।
गाउँपालिका अध्यक्ष यमनाथ दनै, उपाध्यक्ष धर्मबहादुर अर्याल, विभिन्न वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय कर्मचारी तथा सर्वसाधारणको उपस्थितिमा धार्मिक विधिअनुसार पूजाआजासहित शिलान्यास गरिएको हो ।
आफ्नै प्रशासनिक भवन नहुँदा हालसम्म गाउँपालिकाले भाडामा कार्यालय सञ्चालन गर्दै आएको थियो । वार्षिक ३५ लाखभन्दा बढी रकम भाडामै खर्चिँदै आएको र महत्त्वपूर्ण कागजातहरूको सुरक्षा पनि चुनौतीपूर्ण हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत सुरेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ भवन निर्माणपछि यी समस्याहरू अन्त्य हुनेछन्।
गाउँपालिकाको कार्यपालिका केन्द्र साधभन्ज्याङमा स्थानीय २२ जनाले १६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि भवन निर्माण प्रक्रिया अघि बढाइएको हो। निर्माण अवधि २ वर्ष तोकिएको भए पनि भवन एक वर्षभित्र नै निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउने लक्ष्य लिइएको अध्यक्ष दनैले बताउनुभयो ।
भवन अपाङ्गमैत्री र अत्याधुनिक सुविधासम्पन्न हुने गरी निर्माण गरिने छ। ज्वालामुखी गाउँपालिकाका सबै शाखाहरू सोही भवनमा रहने व्यवस्था गरिने छ ।
“आफ्नै भवन नभएका कारण दैनिक सेवा प्रवाहमा कठिनाइ हुने गरेको थियो,“ उपाध्यक्ष अर्यालले भन्नुभयो, “अब सेवाग्राहीहरूलाई शाखा–शाखा फाईल बोकेर हिँड्नुपर्ने अवस्था अन्त्य हुने छ ।“
भवन निर्माणका लागि गाउँपालिकाले १२ करोड ३५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । हाल ७ करोड ९९ लाख ५६ हजार रुपियाँमा ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।