• २३ जेठ २०८२, शुक्रबार

उत्कृष्ट उद्यमी सम्मानित

blog

सम्मानित भएका उत्कृष्ट उद्यमीहरू । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २२ गते । उद्यम व्यवसायमा आकर्षित गर्न तनहुँको म्याग्दे गाउँपालिकाले २० उत्कृष्ट उद्यमीलाई ५० हजार नगद सहित सम्मान तथा पुरस्कृत गरेको छ । वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत व्यवसाय गर्नका लागि छनोट भएका उद्यमी व्यवसायीलाई बिहीबार सम्मान गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे उद्यमीलाई चेक हस्तान्तरण सहित सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभयो । ग्रामिणस्तरमा लघु, घरेलु, कटिल तथा साना उद्यमहरूको स्तरोन्नती गरी रोजगारी सिर्जना गर्नेका लागि सहयोग पुर्‍याउने उद्देश्यले उदमीलाई सम्मान सहित नगद प्रदान गरिएको हो । 

पाँच जनाको निर्णायक मण्डलको मूल्याङ्न, प्रतिस्पर्धीको प्रस्तुति र कार्ययोजना लगायतका आधारमा उत्कृष्ट उद्यमीहरू छनोट भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाका अनुसार एक महिना अघि ४० जना छनोट गरिएकोमा ती मध्येबाट २० जना छनोट गरिएको हो ।

गाउँपालिकामा विभिन्न व्यवसाय सञ्चालन गरेका १३९ जना मध्येबाट २० जना उद्यमी छनोट गरी सम्मान गरिएको गाउँपालिकाको आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो । गाउँपालिकाका अनुसार गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्धन कार्यक्रम  अन्तर्गत उद्यमी छनोट कार्य अघि बढाईएको थियो । 

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको ४० लाख, गाउँपालिकाको रु २० लाख र दायित्व संस्थाको १५ लाख गरी कुल ७५ लाखको लागतमा कार्यक्रम सुरु गरिएकोे आर्थिक विकास शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवर्धन कार्यक्रम गण्डकी प्रदेशका संयोजक जुनतारा बुढामगरका अनुसार उद्यमीको क्षमता अभिवृद्धिका लागि आर्थिक तथा प्राविधिक सहयोग गरिएको हो ।उद्यमी व्यवसायीले आवश्यकता अनुसारको सामान खरिद गरि सोही बराबरको रकम उद्यमीले खर्च गर्ने बुढामगरले बताउनुभयो ।

उद्यमशिलताको विकास गरी रोजगारी प्रवर्धन गर्न कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । छनोटमा परेका ४० जना मध्येबाट उत्कृष्ट दस जना उद्यमीलाई उद्यम प्रवर्धनका लागि आवश्यक सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रम अन्तर्गत उद्यमीहरूको छनोट, सशक्तीकरण, व्यावसायिकीकरण र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ पालिकाका अनुसार गण्डकी प्रदेश सरकार, म्याग्दे गाउँपालिका र दायित्व सस्थाको त्रिपक्ष लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो । यो कार्यक्रम अन्तर्गत पालिका भित्रका उद्यमीहरूको खोजी तथा पहिचान गरेर सशक्तीकरणसँगै व्यावसायिकीकरण र बजारीकरणमा प्रोत्साहन गरिने छ । यो कार्यक्रम अन्तर्गत, कृषि, पशुपालन, व्यापार, घरेलु उद्योगलगायतको प्रवर्धन तथा विकासको क्षेत्रमा काम गरिने छ ।  

गाउँपालिकाको दिगो आर्थिक विकासका लागि स्थानीय स्तरमा हुने उद्यम व्यवसाय, पर्यटन, उत्पादन, पुर्वाधार निर्माण, सिप विकास तालिम, उद्यमशीलता विकास तथा औद्योगिक प्रवर्धन, विशिष्टीकृत वस्तु उत्पादन तथा बजारीकरण लगायतलाई समेटिएको छ । केही समय पछि उत्कृष्ट दस छनोटमा पर्ने छन् ।  

निर्णायक टिमको संयोजकमा म्याग्दे गाउँपालिका आर्थिक विकास शाखाका प्रमुख प्रदीप न्यौपाने, सदस्यहरुमा पशुविकास अधिकृत मुक्तिराम पौडेल, तनहुँ उद्योग वाणिज्य सङ्घ थर्पु बजार एकाइका उपाध्यक्ष सुरेन्द्र अधिकारी र प्रशिक्षक नवराज अधिकारी रहनुभएको थियो ।