• २३ जेठ २०८२, शुक्रबार

'सफा मर्स्याङ्दी' अभियान सञ्चालन

blog

सफा मर्स्याङ्दी अभियान अन्तर्गत घनपोखरामा सरसफाइ गर्दै स्थानीय । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, जेठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाले ‘सफा मर्स्याङ्दी अभियान’ सञ्चालन गरेको छ । गाउँपालिकालाई सरसफाइमा नमुना बनाउने उद्देश्यले पालिकाभरि एकसाथ सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

विश्व वातावरण दिवसको अवसर पारेर जेठ २० गतेदेखि गाउँपालिकाका सबै वडामा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, युवा क्लब, विद्यालय मिलेर सरसफाइ अभियान चलाइएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो । 

सफा मर्स्याङ्दी अभियानको चारदिने कार्यक्रम अन्तर्गत पहिलो दिन जेठ २० गते नौ वटै वडामा सरसफाई सम्बन्धी अन्तर्क्रिया कार्यक्रम, २१ गते माइकिङसहित सचेतनामूलक कार्यक्रम र तेस्रो दिन २२ गते सम्पुर्ण टोल विकास संस्था, विद्यालय, वडा कार्यालय, गाउँपालिकाको कार्यालय लगायत सम्पुर्ण संघसस्थाहरूले आ–आफ्नो क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको र २३ गते सरसफाइ अभियानको अनुगमन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

विगत चार वर्षयता गाउँपालिकामा सफा मर्स्याङ्दी अभियान सञ्चालन गर्दै आइएको उपाध्यक्ष जुनामाया थापाले बताउनुभयो ।  गाउँपालिका धेरै भाग पर्यटकिय क्षेत्र समेत भएकोले यहाँको वातावरण स्वच्छ, हराभरा र सफा बनाउनका लागि सफा मर्स्याङ्दी अभियान प्रभावकारी भएको उपाध्यक्ष थापाले बताउनुभयो ।

गाउँपालिकाले प्रत्येक टोल बस्तीहरूमा पुगेर फोहर सङ्कलन गरी व्यवस्थापन समेत गर्दै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले गाउँपालिकाको ट्याक्टरबाट प्रत्येक महिना गाउँ गाउँ पुगेर फोहोर सङ्कलन गरि डम्पिङ साइटमा व्यवस्थापन गर्दै आएको बताउनुभयो । अबका दिनहरूमा फोहोरको वर्गीकरण गर्ने, कुहिने र नकुहिने फोहोर छुट्याउने, पुनः प्रयोग गर्न सकिने फोहोरको उचित प्रयोगका लागि पहल गर्ने जस्ता क्रियाकलाप गर्ने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले आह्वान गरेको सफा मर्स्याङ्दी अभियानलाई स्थानीयले साथ दिएका छन् । पालिकाका सबै गाउँ तथा टोलहरूमा बाटोघाटो, धारा, पुल, सार्वजनिक क्षेत्र, विद्यालय सरसफाइ गरिएको छ। सफा मर्स्याङ्दी अभियान अन्र्तगत गाउँलेहरु तीन दिनदेखि सरसफाइ अभियानमा लागेको मर्स्याङ्दी–२ घनपोखराका राम गुरुङले बताउनुभयो ।