• २३ जेठ २०८२, शुक्रबार

सप्तकोशीमा दुर्लभ डल्फिनको सङ्ख्यामा वृद्धि

blog

सप्तकोशी नदीमा गरिएको डल्फिन गणनाको नतिजा प्रस्तुत गर्दै कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादव ।

सचिन पोख्रेल

कोशीटप्पु ( सुनसरी), जेठ २२ गते । सप्तकोशी नदीमा पाइने दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिनको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । चार दिनसम्म गरिएको गणनाले सप्तकाेशी नदीमा डल्फिनको सङ्ख्या वृद्धि भएको पुष्टि गरेको हो । 

यस वर्षको गणनाको क्रममा डल्फिनको सङ्ख्या वृद्धि भएको पाइएपछि संरक्षणकर्मीहरूलाई उत्साहित बनाएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षमा बिहीबार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार सप्तकोशी नदीमा डल्फिनको सङ्ख्या अघिल्लो वर्षको १९ बाट बढेर यस वर्ष २२ पुगेको छ ।

सप्तकोशी नदीमा यस वर्ष पानीको बहाव उच्च भएको कारण कोशी ब्यारेजको दक्षिणतर्फ मात्र डल्फिन गणना गरिएको बताइएको छ । तर कोशी ब्यारेजको उत्तरतर्फ पनि डल्फिनको उपस्थिति रहेको अनुमान विज्ञहरूले गरेका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवले सप्तकोशी नदीमा डल्फिनको सङ्ख्यामा आएको वृद्धिलाई नदीको स्वच्छता र संरक्षणकर्मीको महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो । नदीमा फालिने प्लास्टिकजन्य फोहोर र विषादीजन्य प्रदूषणलाई डल्फिन संरक्षणको मुख्य चुनौतीका रूपमा रहेको उहाँको भनाइ छ ।

वरिष्ठ संरक्षण अधिकृत यादवका अनुसार सप्तकोशी नदी क्षेत्रमा डल्फिनको गणना सन् २०२२ देखि नियमित रूपमा हुँदै आएको छ । यस वर्ष पनि कोशी टप्पु वन्यजन्तु आरक्षको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय, काठमाडौँस्थित हिमालयन नेचर, केभीआर, र द रुफोर्ड फाउन्डेसनको प्राविधिक सहकार्यमा सम्पन्न भएको वरिष्ठ संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो ।

प्राप्त जानकारी अनुसार चारैतिरबाट खेराले घेराबन्दी गर्ने तरिका र डुङ्गा प्रयोग गरेर अवलोकन गर्ने तरिका गरी दुई वटा विधिबाट सप्तकोशी नदीमा डल्फिनको गणना गरिएको थियो । सन् २०१२ मा ११ र २०१७ मा १७ वटा डल्फिन भेटिएपछि डल्फिनको संरक्षण र सम्वर्धन कार्यलाई आरक्ष लगायतका सरोकारवाला निकायले प्राथमिकता दिइएको थियो । सन् २०२२ मा १७, र २०२३ र २०२४ मा १९ तथा २०२५ मा२२ वटा डल्फिन गणना गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश संयोजक विरेन्द्र गौतमले बताउनुभयो ।

डल्फिन केवल जल पारिस्थितिकी तन्त्रको संवेदनशील सूचक मात्र होइन, स्थानीय माझी समुदायको धार्मिक आस्थासँग पनि गहिरो रूपमा गाँसिएको प्राणी हो । माझी मल्हा सञ्जालका अध्यक्ष गुलाबी मुखियाका अनुसार माझी समुदायले डल्फिनलाई कुलदेवताका रूपमा पूज्ने परम्परा लामो समयदेखि जोगाइराखेको छ । कात्तिक–मङ्सिरमा गरिने नदी पूजा तथा डल्फिन पूजाले समुदायमा संरक्षणप्रतिको चेतना झनै बलियो बनाएको छ ।

तर, अवैध सिकारले डल्फिन मात्र होइन, समुदायको धार्मिक विश्वासमा पनि चोट पुर्‍याएको अध्यक्ष मुखियाले गुनासो गर्नुभयो ।  नेपाल, भारत र बङ्गलादेशमा मात्र पाइने गङ्गेटिक डल्फिनको सङ्ख्या सप्तकोशी नदीमा वृद्धि भएको पाइएपछि समग्रमा यी देशहरूमा पछिल्ला दशकमा झन्डै ५० प्रतिशतले घटेको विज्ञहरूको ठहर छ । हाल यसको विश्वव्यापी सङ्ख्या करिब तीन हजारको हाराहारीमा रहेको अनुमान गरिएको संयोजक गौतमले बताउनुभयो । 

नेपालमा सन् २०११ को एक अध्ययनले करिब १०० डल्फिन रहेको अनुमान गरेको थियो भने, सन् २०१८ को राष्ट्रिय गणनामा जम्मा ५२ वटा मात्र भेटिएका थिए । विशेषगरी सप्तकोशी नदीका अतिरिक्त कर्णाली मोहना क्षेत्र र नारायणी नदीमा डल्फिन पाइने बताइएको छ । विगतमा महाकालीमा डल्फिन कहिलेकाहीँ देखिए तापनि हाल त्यहाँबाट लोपोन्मुख अवस्थामा रहेको बताइएको छ । 

नेपाल–भारत सिमानामा निर्माण भएका बाँध र ब्यारेज, जल स्रोतको अत्यधिक दोहन तथा नदी प्रदूषण डल्फिनको संरक्षणमा प्रमुख चुनौती बनेका छन् । ब्यारेज खुलेका बेला नेपालबाट भारततर्फ गएका डल्फिनहरू पुनः फर्किन नसक्ने समस्या रहेको संरक्षणकर्मीको भनाइ छ । 

डल्फिनको संख्या वृद्धिले संरक्षण प्रयासले प्रभावकारी परिणाम दिइरहेको स्पष्ट देखिन्छ । संरक्षणमा जनसहभागिता, धार्मिक आस्था र वैज्ञानिक विधिको समिश्रणले भविष्यमा डल्फिनको संरक्षण अझ सशक्त बनाउने अपेक्षा गरिएको छ । त्यति मात्र होइन, पूर्वी नेपालमा डल्फिनको संख्या वृद्धिले यस क्षेत्रको नयाँ पर्यटकीय सम्भावनाको विकास गरेको देखिन्छ ।