• २३ जेठ २०८२, शुक्रबार

मौसमजन्य विपद् व्यवस्थापनमा आवश्यक बजेट हुन्छ : मुख्यमन्त्री लामा

blog

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली 

नारायणगढ, जेठ २२ गते । बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले उद्धार कार्यका लागि आवश्यक उपकरणहरू खरिदमा प्रदेश सरकारले बजेट व्यवस्था गर्ने बताउनुभएको छ । 

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार देवघाटस्थित नारायणी नदी किनारमा आयोजना गरेको मौसम जन्य विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले विपद्को उद्धारका लागि आवश्यक उपकरण खरिद अत्यावश्यक भएको पनि धारणा राख्नुभयो । 

“विपद्को व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती छ । बागमती प्रदेश त अझै विपद्को उच्च जोखिममा रहेको प्रदेश हो”, उहाँले भन्नुभयो । उहाँले विपदबाट हुने क्षति न्यूनीकरणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत सरोकार निकायहरुको भूमिका उल्लेखनिय रहेको धारणा पनि राख्नुभयो। 

“प्रदेश सरकारले बजेटमै व्यवस्था गरेर पनि विपद्को उद्धारका लागि आवश्यक उपकरण खरिदको व्यवस्था गर्ने छ । अब हामीले विपद् रोक्न नसके पनि विपदबाट हुने क्षति कम गर्न हाम्रो भूमिका रहने छ”, उहाँले भन्नुभयो । यस वर्ष मौसम जन्य विपद् बढी हुने मौसम अनुमान भएका कारण पनि थप सर्तक रहन उहाँले सुरक्षा निकायहरूलाई निर्देशन दिनुभयो । 

विपद्लाई व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा कृत्रिम अभ्यास अनुकरणीय रहेको पनि उहाँले बताउनुभयो । 

ग्लोवल वार्मिङ्ग (विश्व तापक्रममा देखिएको वृद्धि) ले बढी पहिरोको जोखिम बढाएकाले यसको नियन्त्रण गर्न पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले यो वर्ष मौसम जन्य विपद्ले बागमती प्रदेशका १० जिल्ला जोखिममा रहेका र त्यसबाट ७४ हजार घर परिवारका ३ लाख ३६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान मन्त्रालयले गरेको बताउनुभयो । 

“मनसुन जन्य जोखिमको प्रभाव वागमति प्रदेशमा बढी छ । यसवाट हुने क्षति न्यूनीकरणमा लाग्न अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो । 

कार्यक्रममा बोल्दै नेपाली सेनाको मध्य पृतना हेटोडाका पृतनापति हरेन्द्र पाठकले प्रकृतिक प्रकोप कसैको नियन्त्रणमा नभएकाले यसको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस र नेपाल स्काउटका २०० जनाले अभ्यासमा सहभागिता जनाएका थिए । नेपाली सेनाको नेतृत्वमा गरिएको सो अभ्यासका क्रममा नारायणीमा बगेर आएका सर्वसाधरणको उद्धार अभ्यास गरिएको थियो । उद्धारकर्मीहरूले डुँगा, र्‍याफ्टिङ्ग लगाएतका साधनहरूबाट नदीमा बगेका मानिसहरूको उद्धार गरेका थिए । 

कार्यक्रममा नेपाली सेनाका सेनानी सुर्दशन वोहोराले विगत पाँच वर्षको अवधिमा नेपालमा बाढी पहिरोबाट ९१४ जनाको मृत्यु, १०१ जना वेपत्ता र ७५० जना घाइते भएको तथ्याङ्क जानकारी दिनुभयो ।