विनय कर्ण
कल्याणपुर (सप्तरी), जेठ २२ गते । ‘मनमा इच्छाशक्ति भए जुनसुकै लक्ष्य पूरा गर्न सकिन्छ’ यो भनाइलाई सत्य साबित गर्दै हुनुहुन्छ शम्भुनाथ नगरपालिका–२ स्थित कनकपट्टीकी पलहासदेवी सदा । छोरा पाउने आशमा उहाँ चार छोरीकी आमा बन्नुभयो । ‘मुसहर’ समुदायकी भूमिहीन दलित पलहास र उहाँका श्रीमान् प्रमोद सदाले चार वटै छोरीलाई नै उच्च शिक्षा हासिल गराएर छोरा सरह बनाउने अठोट लिनुभयो ।
गरिबीका कारण जीवनमा आइपरेका अनेकौँ चुनौतीलाई चिर्दै आफ्ना चार छोरीलाई उच्च शिक्षा दिलाउनमा अहिले उहाँहरू सङ्घर्षरत हुनुहुन्छ ।
पलहास र प्रमोदको कठिन परिश्रमका कारण अहिले जेठी छोरी अञ्जना सदा शम्भुनाथ नगरपालिकास्थित बुद्धि विद्या मुनर क्याम्पस भगवतपुरमा शिक्षा विषय लिएर स्नातक चौथो वर्षमा अध्ययनरत हुनुहन्छ । माइली छोरी २१ वर्षीय रेणुकुमारी सदा पनि सोही क्याम्पसमा शिक्षा विषय लिएरै स्नातक तेस्रो वर्षमा, साइँली छोरी त्यहाँस्थित मावि कचनदाहामा कक्षा १२ मा र कान्छी छोरी पुष्पा सदा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । दैनिक मजदुरी गरेर पेट पाल्ने ‘मुसहर’ समुदायमा स्नातकसम्म पढेको छोरा मान्छे पनि बिरलै भेटिन्छन् । स्नातक पढेको छोरी मान्छेको झनै कल्पना पनि गर्न सकिँदैन । तर पनि पलहास र प्रमोद दम्पतीले छोरीहरूलाई स्नातकसम्मको शिक्षा हासिल गराउने सपना बोकेर अगाडि बढ्नु ‘मुसहर’ समुदायका लागि मात्रै नभएर समग्र समाजकै लागि सकारात्मक सन्देश दिएको छ । अहिलेसम्मको यात्रा उहाँहरूका लागि पीडादायी नै छ तर हार भने मानेका छैनन् ।
सपना र सङ्घर्ष
शम्भुनाथ नगरपालिका–२ स्थित कनकपट्टी चुरेको किनारमा छ । एकाबिहानै घरबाट जङ्गल गई दाउरा ल्याएर बेच्नु नै पलहासको मुख्य पेसा हो । पलहासले भन्नुभयो, “बिहानै जङ्गल जान्छु, त्यहाँबाट दाउरा सङ्कलन गरी ल्याई बेचेर छोरीको पढाइ खर्च तिर्छु र जेनतेन पेट पाल्छु ।”
छोरीहरूको पढाइ खर्च धान्न नसकेर श्रीमान् प्रमोद निकै तनावमा रहने गरेको भए पनि उहाँलाई सान्त्वना दिँदै हामी दुवै जना एक दिन पनि घर नबसी जे काम पायो त्यही गरेर छाक टार्नेदेखि पढाइ खर्चको जोहो गर्दै आएको उहाँको भनाइ छ । जेठी छोरी अञ्जनाको बिहे भइसकेपछि उनका ससुरालीपट्टिले पढाइ खर्च नतिर्दा पनि आफैँले तिर्दै आएको उहाँले सुनाउनुभयो ।
छोरीहरू स्नातकसम्म पढोस् भन्ने चाहना पूरा गर्न खर्च धान्न नसकेर कैयौँ दिन भोकै पनि बस्ने गरेको तर साथीहरू डाक्टर पढेको देखेर छोरीहरू घरमा रुने पनि गरेको उहाँले दुःखेसो पोख्नुभयो ।
उहाँले भन्नुभयो, “आर्थिक स्रोत जुटाउन हामी दुवै जना एक दिन पनि घर नबसी जे काम पायो त्यही गरेर छाक टार्छौं र छोरीहरूको पढाइ खर्च जुटाउँछौँ । कैयौँ दिन हामी भोकै बसेका छौँ तर हाम्रो सपना भनेको चार वटै छोरीलाई जसरी भए पनि स्नातकसम्म पढाउनु हो ।” शिक्षक बन्ने लक्ष्य लिएर स्नातक गरिरहेको पलहासकी माइली छोरी रेणु भन्नुहुन्छ, “आमाबुवाको कमाइले पढाइ खर्च पुगिराखेको छैन तर हरेश पनि खाएको छैन ।” महुली सामुदायिक विकास केन्द्रले ह्याबिट्याट फर हिम्युनिटी नेपालको सहयोगमा सुरक्षित आवास कार्यव्रmम अन्तर्गत घर बनाइदिएपछि बास बस्ने समस्याबाट मुक्त भएको पलहासको भनाइ छ ।
समाजका लागि सन्देश
पलहास र प्रमोदका लागि चार छोरीलाई छोरा बनाउने यात्रा त्यति सजिलो थिएन । यद्यपि उहाँहरू कहिल्यै पनि हार मान्नुभएन । अडिग इच्छाशक्ति र अनेक कठिनाइ भए पनि छोरीहरू शिक्षा प्राप्त गर्न लड्दै छन् र भविष्यमा शिक्षक वा अरू कुनै उत्कृष्ट पेसामा स्थापित हुने सपना बोकेकी छिन् । यो केवल एक परिवारको सङ्घर्ष मात्र होइन, सम्पूर्ण समाजका लागि शिक्षा र समृद्धिको दियो हो । पलहासले भन्नुभयो, “मलाई थाहा छ, हामीसँग पैसा छैन तर हाम्रो इच्छा बलियो छ । हामी कुनै पनि हालतमा छोरीहरूलाई स्नातकसम्म पढाउन देखेको सपना पूरा गर्छौं । जुन दिन चार वटै छोरी स्नातक गर्छन्, त्यो दिन छोरीहरूलाई छोरा बनाउने सपना पूरा भइहाल्छ ।”