• १७ असार २०८१, सोमबार

पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर नाकामै रोकिए

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, जेठ ३० गते । नेपाल भित्रिने पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर दुई दिनदेखि रुपन्देहीको सुनौली नाकामै रोकिएका छन् । भारतीय आयल कर्पोरेशनले गरेको सिस्टम परिवर्तनका कारण समस्या सिर्जना भएको हो । नेपालमा आइओसी मार्फत तेल आउने गर्दछ ।

उता ट्याङ्कर रोकिएसँगै बजारमा डिजल मौज्दात रहे पनि पेट्रोलको अभाव देखाइएको छ । बिहानदेखि बुटवलमा पेट्रोल पाइएको छैन । पेट्रोलको भण्डारण क्षमता कम भएकाले स्टकमा कमी आएको व्यवसायीले थाहा पाएपछि तेल बेच्न बन्द गरेका छन् ।

भारतीय भन्सारको सिस्टम अपडेट गर्दा नेपाल आउने पेट्रोलियम पदार्थ शनिबारदेखि आउन पाएको छैन । भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि नेपालका लागि आउन लागिएको पेट्रोलियम पदार्थ सीमामा रोकिएको भन्सार कार्यालयले रुपन्देहीका कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकालले गोरखापत्रलाई बताउनुभयो ।

ढकालका अनुसार भारतीय आयल कर्पोरेशनले एडी कोड(एकाउन्ट डिटेल) राख्नुपर्छ, शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार कर्पोरेशनले कोड नराखी गाडी पास नभएको हो । 

शुक्रबार लोड भएका शनिबार आइपुग्नुपर्ने ट्याङ्कर नआइपुगेपछि बुज्दै जाँदा आइओसीको डाटा इन्ट्रीका कारण समस्या भएको रहेछ उहाँको भनाइ छ ।

भैरहवा भन्सार हुँदै दैनिक ४०–५० वटा टया्ङकर आउने गरेका थिए । शुक्रबारदेखि सोमबार मध्यान्ह १२ बजेसम्म कुनै पनि ट्याङ्कर आएका छैनन् । भन्सार कार्यालय, नेपाल आयल निगम र सरोकारवाला निकायले समन्वय गरिरहेको र आज बेलुकासम्ममा समस्या समाधान हुने ढकालले बताउनुभयो ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय भलबारीका रुपन्देहीका प्रमुख नवविनोद पोखरेलले आइओसीको सिस्टममा बैंक खाता नम्बर लिंक गराउनुपर्ने भएकाले र अहिले काम भैरहेकाले बेलुकासम्म समस्या हल हुने बताउनुभयो  ।

भारतीय आइसिर्ई गेट पोर्टलमा बैक, एडी कोड, खाता नम्बर, लोकेशनसहितको डाटा प्रविष्ट गर्नुपर्छ । जसका लागि अनिवार्य रुपमा चालू रहेको खाताको पासबुकको फोटो र खातावाहकको बैंकले जारी गरेको प्रमाणपत्र चाहिने गरेको छ ।