हुम्ला समाचारदाता
हुम्ला, जेठ १८ गते । जिल्लामा पर्ने कर्णाली नदी, सहायक नदी र खोलामा १० वटा काठेपुल निर्माण गरेर यातायात सञ्चालन गरिएको छ । अत्यावश्यक ती स्थानमा पक्की पुल तथा बेलिब्रिज निर्माण अघि नबढेपछि अस्थायी काठेपुल निर्माण गरेर यातायात सुचारु गरिएको हो ।
नाम्खा गाउँपालिका–६, हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जेर तामाङले तिलगाउँलाई यातायात सेवासँग जोड्न लिमी कर्णालीमा बनाएको काठेपुल गत वर्ष पहिरोले बगाएपछि यस वर्ष पनि स्थानीयले सोही स्थानमा काठेपुल निर्माण गरेर यातायात सुचारु गरेको बताउनुभयो । सोही गाउँपालिका–५ को तुम्कोट खोलामा मुचुगाउँलाई यातायात सेवासँग जोड्न काठेपुल निर्माण गरिएको छ । उक्त गाउँपालिकाको याङ्गार खोला, सल्ली खोला र न्यालु जाने खोलामा पनि काठेपुल निर्माण गरेर यातायात सेवा सुचारु गरिएको छ ।
सोही गाउँपालिकाको ताग्रु खोलामा पनि काठेपुल निर्माण गरेर यातायात सञ्चालन हुँदै आएको छ । सिमकोट र नाम्खा गाउँपालिका जोड्ने हेक्पा खोलामा पनि काठेपुल निर्माण गरेर चार वर्षदेखि यातायात सेवा सुचारु हुँदै आएको छ । सल्ली खोलामा पक्की पुल निर्माण भएको भए पनि छोटो दुरी भन्दै चालकले काठेपुललाई नै प्रयोग गर्दै आएका छन् भने याङ्गार र हेक्पा खोलामा पक्की पुल निर्माणाधीन अवस्थामा रहेका कारण काठेपुल नै प्रयोगमा आएको छ ।
ताग्रु खोलामा पक्की पुल निर्माण भए पनि स्थानीय जग्गाधनीले विरोध गरेका कारण भिरालो जमिनमा सडक निर्माण पूरा नभएकाले काठेपुल नै प्रयोग गर्नुपर्ने बाध्यता चालकलाई रहेको छ । नाम्खा गाउँपालिकाकै खगालगाउँ जाने सडकमा पर्ने सावामा कर्णाली नदीमाथि काठेपुल निर्माण गरेर यातायात सेवा सञ्चालन हुँदै आएको छ । त्यसै गरी सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डको गोठीखोलामा पनि काठेपुल निर्माण गरेर यातायात सुचारु हुँदै आएका छन् । उक्त खोला कर्णाली कोरिडोरमा पर्छ ।
त्यसै गरी चङ्खेली गाउँपालिका–२ र ४ लाई जोड्ने घट्टा चौरको लोती कर्णाली नदीमाथि पनि काठेपुल निर्माण गरेर यातायात सेवा चलाइएको छ । यी काठेपुल गाउँपालिका, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक योजनाले निर्माण गरेको लिमीका वडाध्यक्ष पाल्जेर तामाङले जानकारी दिनुभयो ।