हिजोआज निर्वाचनका क्रममा उम्मेदवारले डिजिटल रणनीति, सामाजिक सञ्जाल, घरदैलो, सभा सम्मेलन, पोस्टर, ब्यानर र परम्परागत प्रचारका विभिन्न विधि अपनाउने गर्छन् । सामाजिक सञ्जालमा आकर्षक भिडियो, भावनात्मक भाषण र सटिक नारा निर्माण गर्दै मतदातासँग जोडिने प्रयाससमेत गर्छन् । नेताको नीति, दर्शन र प्रतिबद्धता जति बलियो भए पनि आफूलाई सही रूपमा प्रस्तुत गर्न सकेनन् भने मतदातासम्म उनीहरूको सन्देश पुग्दैन । ब्रान्डिङ अत्यावश्यक भइसकेको तर कमैले मात्र अन्वेषण गरेको क्षेत्र हो राजनीति । ब्रान्डिङ भनेको उम्मेदवारको वास्तविक व्यक्तित्व, विचारधारा र उद्देश्यलाई प्रभावशाली रूपमा प्रस्तुत गर्ने प्रक्रिया हो ।
अघिल्लो पुस्ताका नेता सङ्गठन र विचारमा बलियो हुन्थे । उनीहरूको पहिचान सङ्गठनका माध्यमबाट स्थापित हुन्थ्यो । उनीहरू मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहन्थे र दीर्घकालीन सङ्घर्षबाट निर्माण भएका व्यक्तित्वहरू थिए । आजको पुस्ताका नेताहरूलाई ब्रान्ड पनि बनाउनुपर्ने आवश्यकता छ ।
अहिलेको समयमा राजनीति ब्रान्डिङमुखी बन्दै जानुका पछाडि केही महत्त्वपूर्ण कारण छन् । पहिलो जनसङ्ख्या तीव्र रूपमा वृद्धि भएको छ, भूगोल फराकिलो बनेको छ र सहरीकरण तीव्र गतिमा अघि बढेको छ । हिजोका दिनमा नेताहरू गाउँगाउँ डुल्थे, मतदातासँग प्रत्यक्ष भेटघाट गर्थे । अहिले सबै मतदातासँग व्यक्तिगत रूपमा भेटघाट सम्भव छैन । जसका कारण नेताहरू डिजिटल माध्यममै बढी निर्भर हुन थालेका छन् ।
दोस्रो प्रविधिको अल्गोरिदमले बढी ध्यानाकर्षण गर्न सक्ने सामग्रीलाई बढी प्राथमिकता दिने गर्छ । जसका कारण नेताहरूले अब सिर्जनात्मक रूपमा आफ्ना नारा, सन्देश र ब्रान्डलाई डिजिटल संसारमै प्रभावकारी रूपमा प्रवर्धन गर्नुपर्ने हुन्छ । नेताले जे भने पनि यदि सामाजिक सञ्जालका अल्गोरिदमले प्रवर्धन गरेन भने त्यो सन्देश जनतासम्म पुग्दैन ।
तेस्रो सूचना प्रवाहको गति तीव्र भएको छ । पहिले नेताहरूले सार्वजनिक सभा वा प्रेस विज्ञप्तिका माध्यमबाट मात्र धारणा राख्थे । अहिले एकै दिनमा ट्रेन्डिङ रहेको विषय बदलिन्छ । मतदाताको ध्यान तानिराख्न नेताहरूलाई निरन्तर अपडेट दिनुपर्ने बाध्यता छ । त्यसैले, राजनीति अब केवल सङ्गठन र विचारको खेल रहेन । यो दृश्य, ध्वनि, कथा, प्रविधि, तथ्याङ्क र डिजिटल उपस्थितिको लडाइँ पनि हो । वर्तमान विश्व राजनीतिक परिदृश्यलाई हेर्दा पनि नेताहरूले ब्रान्डिङलाई कसरी प्रभावकारी रूपमा प्रयोग गरेका छन् भन्ने थुप्रै उदाहरण पाइन्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन (मागा)’ नाराले राष्ट्रवाद, अर्थतन्त्र सुधार र परम्परागत अमेरिकी मूल्यहरूको पुनस्र्थापनालाई इङ्गित ग¥यो । यो ब्रान्डिङ यति बलियो बन्यो कि ट्रम्पका समर्थकलाई नै ‘मागा क्राउड’ भनेर चिनिन थाल्यो । सन् २००८ मा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा बराक ओबामाले ‘होप’ र ‘यस वी क्यान’ नारालाई आफ्नो चुनावी ब्रान्ड बनाए । सेपर्ड फेअरीले बनाएको ओबामाको ‘होप’ पोस्टर केवल एउटा डिजाइन मात्र रहेन, त्यो सांस्कृतिक प्रतीक बन्यो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नमो (नरेन्द्र मोदी) ब्रान्ड निर्माण गरेर आफ्नो राजनीतिक छवि बलियो बनाए । सन् २०१४ को चुनावअघि चायवाला र सन् २०१९ को चुनावमा ‘में भी चौकीदार’ को ब्रान्डले मोदीलाई जनता माझ जनप्रिय नेताको रूपमा स्थापित ग¥यो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको ‘गेट ब्रेक्जिट डन’ र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको ‘सर्वसाधारण जनताका नेता’ को ब्रान्डिङ पनि सफल रह्यो ।
नेपालको राजनीतिमा समेत ब्रान्डिङको प्रभाव दिनप्रतिदिन बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र जस्ता पुराना ठुला दलहरू पछिल्लो समय डिजिटल प्रचारमा निकै सक्रिय देखिएका छन् । पार्टीहरूका आधिकारिक पेज, नेताका व्यक्तिगत सामाजिक सञ्जालका अकाउन्ट र चुनावी अभियानका डिजिटल सामग्रीहरू अत्यन्त व्यवस्थित रूपमा सञ्चालन गरिन थालेका छन् । संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय नै प्रविधि र डिजिटल सञ्जालको प्रभावको उदाहरण हो । काठमाडौँका मेयर बालेन शाहले आफ्नो चुनावी चिह्न लौरोलाई केवल चिह्नको रूपमा मात्र प्रयोग गरेनन् । त्यसलाई परिवर्तनको प्रतीक बनाइदिए । उनका समर्थकले लौरोको स्टिकरहरू बाइक, गाडी र मोबाइल कभरमा टाँसे । डिजिटल मिडियामा ट्रेन्ड स्थापित गरिदिए । बालेनले पुरानो राजनीतिक शैलीलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवार भएर पनि कसरी सही ब्रान्डिङले चुनाव जित्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरे ।
ब्रान्डिङ सधैँ सफल नै हुन्छ भन्ने हुँदैन । असफल ब्रान्डिङका कारण केही नेता आलोचनाको सिकार भएका छन् । केही नेताले डिजिटल मिडियामा बनावटी छवि निर्माण गरेर आलोचना भोगेका छन् । मिथ्या समाचार, गलत जानकारी र अनर्गल प्रचारले चुनावी नतिजामा असर पार्ने घटनाहरू पनि देखिएका छन् । कतिपय नेताहरूले डिजिटल माध्यममा देखाएको छवि वास्तविक जीवनमा मेल नखाएपछि उनीहरूप्रति जनता निराश भएका उदाहरण प्रशस्तै छन् ।
आजको दिनमा नेताहरूले आफैँलाई केही आधारभूत प्रश्न सोध्न जरुरी छ । के म आफ्नो विचारधारामा स्पष्ट छु ? के मेरो भाषा सरल, प्रभावकारी र जनतासँग प्रत्यक्ष संवाद गर्ने किसिमको छ ? के मेरो हावभाव आत्मविश्वासी देखिन्छ ? के म सामाजिक सञ्जालमा सही सन्देश प्रवाह गरिरहेको छु ? यी प्रश्नहरूको उत्तर खोज्न सक्ने नेताले मात्र आफ्नो ब्रान्डलाई मजबुत बनाउन सक्छ । ब्रान्डिङ भनेको केवल प्रचार होइन । यो नेताको पहिचान, मूल्य र सञ्चार शैलीको सम्मिश्रण हो । एक प्रभावशाली ब्रान्ड निर्माण गर्न पाँच महत्वपूर्ण तत्व आवश्यक पर्छन् । पहिलो प्रभावशाली कथा । जीवनयात्रा प्रेरणादायी हुनु पर्छ, जसले जनतासँग भावनात्मक रूपमा जोड्न सकोस् । दोस्रो सत्यता वा वास्तविकता । बनावटीपनले जनताको मन जित्न सक्दैन ।
तेस्रो निरन्तरता । चुनावका बेला मात्र होइन, सधैँ उस्तै सन्देश र व्यवहार प्रस्तुत गर्नु पर्छ । चौथो अन्तव्रिर्mया । मतदाता नागरिकसँग प्रत्यक्ष जनसंवाद, भेटघाट र सामाजिक सञ्जालका अन्तर्क्रियामा सक्रिय सहभागिता आवश्यक छ । अन्तिम तत्त्व– भिजुअल आइडन्टिटी अर्थात् आफ्नो एउटा देख्न सकिने पहिचान निर्माण गर्नु हो । यसको अर्थ नेताको बाहिरी छवि, रङ्ग संयोजन, लोगो, पोसाक, सिग्नेचर स्टाइल तथा जनतासँग सम्बद्ध हुने दृश्यात्मक तत्त्वहरू हुन् ।
निष्कर्ष
प्रविधिको विकासले राजनीतिमा ठुलो परिवर्तन ल्याइसकेको छ । सामाजिक सञ्जाल प्लेटफर्ममा चुनावी विज्ञापनहरूमा लाखौँ डलर खर्च भइरहेको छ । एआई ड्राइभन डेटा एनालिटिक्स प्रयोग गरी मतदाताको मनोविज्ञान बुझ्ने र त्यसै अनुसार चुनावी रणनीति बनाउने चलन विश्वव्यापी रूपमा बढ्दो छ । नेपालमा विसं २०७४ को चुनावबाट डिजिटल प्रचारको व्यापक सुरुवात भयो । २०७९ सालको आमनिर्वाचनपछि सामाजिक सञ्जाल निर्णायक तत्त्व बनिसकेको छ । स्वतन्त्र उम्मेदवारको उदय, नयाँ पार्टीहरूको सफलता र परम्परागत नेताहरूले समेत डिजिटल मिडियामा दिएको प्राथमिकताले प्रविधिको शक्ति देखाइसकेको छ । आगामी चुनावमा प्रविधिको भूमिका झन् बढ्ने आकलन गर्न सकिन्छ ।
त्यसैले अब राजनीति केवल विचारको खेल रहेन । यो ब्रान्ड निर्माणको प्रतिस्पर्धा पनि हो । राजनीति व्यक्तित्व केन्द्रित बन्दै गएको छ । नेताहरूले आफ्नो पहिचानलाई सशक्त बनाउन निरन्तर काम गर्नु पर्छ । सफल नेताहरूले विचार मात्र होइन, प्रभावशाली सञ्चार रणनीति, प्रविधिको उपयोग र जनमानसमा गहिरो प्रभाव पार्ने ब्रान्डिङ गर्न सक्नु पर्छ । अबको युगमा नेताहरू परम्परागत छवि अनुरूप आफूलाई ढाल्नेभन्दा पनि नयाँ ब्रान्ड निर्माण गरेर अगाडि बढ्नुपर्ने हुन्छ । आफूलाई नेताका रूपमा मात्र नभई एउटा प्रभावशाली ब्रान्डका रूपमा स्थापित गर्न सक्नेहरूले नै भविष्यको राजनीति सञ्चालन गर्ने छन् ।