• १८ असार २०८१, मङ्गलबार

गुल्मीमा आगलागी नियन्त्रण सम्बन्धी डेमो प्रर्दशन

blog

तम्घास चिदिचौरमा विपद् सम्बन्धी कृत्रिम घटना अभ्यास तथा मनसुन प्रतिकार्य अभ्यास गरिँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, जेठ २९ गते ।  आइतबार विदाको दिन । तम्घास बजारमा खासै चहलपहल थिएन् । सरकारी कार्यालयहरु बन्द थिए । तर तम्घास चिदिचौरमा भने वरिपरि मानिसहरुको भिड देखिन्थ्यो । चिदिचौर अगाडी रहेको महेन्द्र माध्यमिक विद्यालय पनि बन्द थियो । अघिपछिका दिनमा चिदिचौरमा बजार गर्न हिडिरहेका मानिस देखिन्थे । यस दिन चिदिचौरको वातावरण अन्य दिनमा भन्दा फरक देखिन्थ्यो ।  

चौरमा मानिसहरुका स–साना वस्ती जस्ता टहरा देखिन्थे । घाम लागिरहेकाले पनि होला । गर्मीको उकुस–मुकुस थियो । साना साना फुस तथा परालले छाएर बनाइएका टहरामा मानिसहरु कोही बसिरहेका देखिन्थे । कोही सुतिरहेका देखिन्थे । केही टहराभित्र वस्तुभाउ पनि थिए । मानौं यहाँ भर्खरै कुनै समुदायका मानिसहरु आएर बस्ति बसालेका छन् । 



टहरा नजिकै थिए । हरिया बोटविरुवा । बोटविरुवाको फेदमा सल्लीपिलर देखिन्थ्यो । यत्तिकैमा एक जना बटुवा त्यहाँ चुरोट तान्दै हिडिरहेको दृश्य देखिन्थ्यो । ती बटुवाले आफुले तान्दै हिडेको चुरोटको ठेटो सल्लीपिलरमा फ्याके । अनि आफ्नो गन्तव्यमा लागे ।  एकैछिनमा उनले फ्याकेको चुरोटको ठुटोबाट सल्लीपिरलमा आगो सल्कियो । 

त्यस नजिकै रहेका एकजना स्थानीयले देखे । उनले वडाअध्यक्षलाई खबर गरे । हेर्दाहेदै बोटविरुवाको फेदमा रहेका सल्लीपिलरमा आगो दन्दनी दन्कियो । आगोले ठुलो रुप लिदैं गयो । अन्ततः आगो टहरामा प्रवेश ग¥र्यो । यो दृश्य देखिरहँदा चिदिचौरमा मानिसहरुको भिड बाक्लिएको थियो । टहरामा बसेका मानिसहरु चिच्याउन थाले । हारगुहार गर्न थाले । त्यत्तिकैमा वडाअध्यक्षले प्रहरीलाई र स्थानीयलाई खबर गरें । 

एकैछिनमा प्रहरीहरु परिचालित भए । आगो नियन्त्रणमा प्रयासमा जुटे । आगलागीमा परि कोही बेहोस् भइरहेका थिए । साइरन बजाउँदै आएको एम्बुलेन्समा प्रहरीले उनलाई उद्धार गरि अस्पताल पठाए । आगो नियन्त्रणका लागि दम्कल पनि आयो । 


स्थानीय, जनप्रतिनिधि, प्रहरी, शशस्त्र प्रहरी, आर्मी, रेडक्रस लगायतको समन्वयमा आगलागी नियन्त्रणमा आयो । यो घटनालाई चिदिचौरको कुनापट्टी बसेर गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र स्थानीयहरुले हेरिरहेका थिए । आगलागी नियन्त्रणपछि रेडक्रस लगायतका सामाजिक संघसंस्थाहरुले आगलागी पीडितहरुलाई राहत समेत वितरण गरेको देखिन्थ्यो । 

नजिकै ब्यानरमा लेखिएको रहेछ ! विपद् सम्बन्धी कृत्रिम घटना अभ्यास तथा मनसुन प्रतिकार्य अभ्यास । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा चिदिचौरमा देखाइएको यो घटना आगलागी नियन्त्रण सम्बन्धी पूर्व अभ्यास थियो । घटनामा घाइते भएकालाई कसरी उद्धार गर्ने ?, पीडितहरुलाई कसरी सानत्वना दिने ?, विपद् व्यवस्थापनका लागि कसरी अन्तर समन्वयलाई जोड दिने भन्ने विषयमा स्थानीयहरुलाई शिक्षा दिनका लागि यस्तो कार्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो । वर्षेनी हुने आगलागीको घटनाले यस जिल्लामा जनधनको समेत क्षति हुँदै आएको छ । 

जिल्ला स्तरिय विपद् व्यवस्थापन समितिको बैठकले विपद्संग सम्बन्धित कृत्रिम घटनाको परिकल्पना गरि अग्रिम अभ्यास गर्ने अर्थात डेमोस्टेशन गर्ने निर्णय गरेको थियो । कृत्रिम घटनाको परिकल्पना गरि गरिएको अग्रिम अभ्यास मार्फत जोखिम न्यूनिकरण, व्यवस्थापनसंगै सरोकारवालामा सचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी गैरैले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापन सम्बन्धी पूर्व तयारी फितलो हुनु, विपद् सम्बन्धी स्थानीयलाई पनि जानकारी नहुनु, आवश्यक स्रोत र साधनको अभावमा विपद् सम्बन्धी घटनालाई समयमै व्यवस्थापन गर्न नसकिएको देखिन्छ । यस्तो अवस्थामा स्थानीयहरुलाई सचेत बनाउन तथा अन्तरसमन्वयलाई कायम गर्नका लागि गर्नुपर्ने कार्यका विषयमा प्रत्यक्ष रुपमा जानकारी गराउने उद्देश्यले सचेतनामूलक विपद् व्यवस्थापन सम्बन्धि डेमो प्रर्दशन गरिएको गैरेले बताउनुभयो । यो कार्यक्रम अन्यन्त सकारात्मक र सचेतनामूलक भएको स्थानीयको भनाइ छ ।