• २४ असोज २०८२, शुक्रबार

वर्षाले खानेपानीको मुहानमा क्षति, स्थानीय प्रभावित

blog

अविरल वर्षाले बर्दिबास –३ स्थित खयरसाल पाखोमा पहिरोले क्षति गरेपछि सुकेको धारा नियाल्दै स्थानीय बालिका । तस्विर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, असोज २४ गते । अविरल वर्षाले बर्दिबास –३ स्थित पाटु गाउँको खानेपानीको मुहानमा क्षति गर्दा गाउँमा पानीको अभाव भएको छ । यसअघि असोज ३ गते पनि भोगटे खोलामा आएको बाढीले खानेपानीको मुहान र पाइपलाइनमा क्षति गरेको थियो ।

खानेपानीमा पाटु गाउँका चारसय परिवार आश्रित छन् । पवनेश्वर खानेपानी उपभोक्ता समितिका सचिव कृष्ण भण्डारीका अनुसार मर्मतपछि कसैगरी सञ्चालनमा आएको यो खानेपानीमा तीन दिन लामो अविरल वर्षाले फेरि क्षति पुगेपछि गाउँमा खानेपानीको समस्या थप चुलिएको छ । 

स्थाई मर्मतसम्भार पनि बिचैमा रोकिएको छ । स्थानीय रमेश क्षेत्रीका अनुसार भीषण वर्षापछि कारे, भोगटे र रातु खोलामा एकै पटक बाढीले खानेपानीको मुहानमा हिलो माटो थुपार्नुका साथै पानी रिचार्जका लागि बनाइएको २ मिटर अग्लो र १० मिटर लामो बाँधमा पनि क्षति गरेको छ । 

उहाँले भन्नुभयो, ‘बाढी र वर्षाले चुरे डाँडास्थित मुहान जाने बाटोको ठाउँ ठाउँमा पहिरोले खानेपानीको तारजालीसमेत बगाएको छ । खयर साल पाखोमा पाइपलाइनका विभिन्न खण्ड चुँडाएको छ भने कतै पाइपलाइन फुटाएकाले खानेपानीको आपूर्ति पुनः ठप्प भएको हो ।’

खानेपानीमा क्षति पुगेपछि अहिले ३० वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको पुरानो इनार सफा गरेर अस्थायी समाधानको प्रयास थालिएको समितिले जनाएको छ । यो पानी अपर्याप्त भएकाले कतिपय गाउँले रातुखोला खोस्रेर जरुवा पानी पिउन बाध्य छन् ।