• २४ असोज २०८२, शुक्रबार

इनरुवाका पण्डित(कुम्भकार) समुदायलाई दियो र घैला बनाउन भ्याइनभ्याइ

blog

सुनसरीको इनरुवा नगरपालिका २ स्थित बिहीबारे हाटमा घर भएका पण्डित समुदायका एक दम्पती माटोको दियो बनाउनुहुँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, असोज २४ गते । तिहारका लागि सुनसरीको इनरुवाका पण्डित(कुम्भकार) समुदायलाई दियो र कलशका लागि घैला बनाउन भ्याइनभ्याइ भएको छ । तिहारमा प्रायः हिन्दु समुदायले माटोको दियो र कलशका लागि घैला प्रयोग गर्ने भएकाले बजारमा अत्याधिक माग हुने दियो र घैला बनाउन इनरुवाका पण्डित(कुम्भकार) समुदायलाई भ्याइनभ्याइ भएको हो । 

तिहारका लागि आवश्यक सामग्री फलफूल, सयपत्री र मखमली फूलको माला, भाई मसलासँगै प्रत्येकको घरमा लक्ष्मीपूजाका दिन अनिवार्य जस्तै दियो बाल्ने पालाको समेत खपत र माग रहेकोले त्यसको परिपुर्तीका लागि इनरुवाका पण्डित(कुम्भकार) समुदायलाई दियो र कलश बनाउन भ्याइनभ्याइ भएको इनरुवा २ का शिक्षक प्रमोद पण्डितले जानकारी दिनुभयो । 

उहाँका अनुसार बजारमा दियो, पालाको माग बढेसँगै उहाँका कुम्भकार समुदायलाई यतिखेर दियो (पाला) बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । पण्डितले भन्नुभयो, ‘तिहार आउन अझै हप्ता दिन समय बाँकी छ । हप्ता दिनभित्र मागअनुसारको दियो, घैला पठाउन नसके बनाएको व्यर्थ हुन्छ । ’ त्यसैले दिनरात गरेर धेरै पण्डितहरुले पुर्खौली पेशाको सम्मान पनि हुने र आम्दनी पनि हुने भएकाल दियो र कलशका लागि घैला बनाउन भ्याइनभ्याइ भएको छ । 

स्थानीय धुब्र पण्डितका अनुसार अचेल इनरुवाको बिहीबारेका हाम्रो कुम्भकार समुदायको दिनचर्या नै दियो, कलश तयार गर्ने कार्य मै बित्ने गरेको छ । तिहारमा दियो (पाला)को उच्च माग हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडा बनाउने कामलाई थाती राखेका छन् ।

तिहारमा लक्ष्मीपूजाका लागि बाहिरी जिल्लाबाट समेत दियो र कसशको माग आउने भएकाले ठूलो घैला, गमला, धुपौरो, खुत्रुके, ताबा लगायत विभिन्न पर्यटकीय सामग्री बनाउने कामलाई थाती राखेर दियो र कलश बनाउने काममा व्यस्त भएको उहाँले बताउनुभयो ।

‘बिहान सबेरै उठ्ने हो, चिया नास्ता गर्ने, अनि अघिल्लो दिनमै तयार गरिराखेको माटोलाई थप तयार गर्री दियो र कलश बनाउने, सुकाउने र सुकिसकेकोलाई क्युमा बसेर पोलेर तयार गरी मागअनुसार बजार पठाउने काममा नै व्यस्त छौँ । अहिले अन्य भाँडाकुँडा बनाउन फुर्सद छैन’, उहाँले भन्नुभयो ।

अहिले सदरमुकाम इनरुवाका कुम्भकार समुदायले मात्र नभई हरिनगर गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपाकिलाको विभिन्न टोलका कुम्भकार पण्डितले समेत अन्य भाँडा बनाउने कार्यलाई थाती राख्दै दियो र कलश बनाउने कार्यमा तल्लीन छन् ।

विशेषगरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलीमिली बत्ती बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलीमिली बत्ती बाल्ने परम्परा छ । तिहारको लक्ष्मी पूजाको दिन दीपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायत स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्पराले कुम्भकारहरुलाई यो बेलामा व्यपार गर्न समेत सजिलो हुने गरेको छ ।

पछिल्लो समय तिहारमा बत्ती बाल्नकै लागि विद्युत् बत्तीको मागसमेत उच्च हुने गरेको छ । तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्य रुपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायी बताउँछन् ।

केही वर्षअघि मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले दियोको माग बढेको इनरुवाका व्यापारी शिवनारायण पण्डितले बताउनुभयो । 

‘विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षा, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले दियोलाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको हो’, उहाँले भन्नुभयो ।

जिल्लामा उत्पादन गरेको दियो जिल्लाको बजारमा पठाउने र बढी भएकोमा व्यपारीहरुलाई थोकमा लिएर बाहिर पनि पठाउने जनाइएको छ । इनरुवा नगरपालिका २ स्थित बिहीबारे हाटमा घर भएका ५० घर परिवारका पण्डित समुदायका कुमालेहरु हस्तकलाका सामग्री बनाउन व्यस्त छन् । उनीहरुले चिम्टाइलो माटोबाट दियो, घैला, कोसीया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढकना, दलिया लगायतका सामग्री बनाउन व्यस्त भएका हुन् ।