टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), असोज २४ गते । गुल्मीको चन्द्रकोटमा चन्द्रकोट आधारभूत अस्पताल सञ्चालन हुने भएको छ । चन्द्रकोट गाउँपालिका–४ को शान्तिपुरमा १५ शय्याको अस्पताल भवन निर्माण भए पनि उपयोग नहुँदा नागरिक स्तरमा आलोचना भइरहेको थियो । अस्पताल बन्ने जिल्लाका ११ स्थानीय तह मध्ये गुल्मीदरवार र चन्द्रकोटमा सबैभन्दा पहिला भवन निर्माण भएका थिए ।
चन्द्रकोट गाउँपालिका मेडिकल अधिकृतहरुको जोहो गरेर अस्पताल सञ्चालनको योजना अगाडि सारेको छ । गाउँपालिकाको विज्ञापन मार्फत डाक्टर रोशनकुमार यादव र लुम्बिनी प्रदेशको छात्रवृृत्ति करारमार्फत डाक्टर अरुण गैरेको व्यवस्थापन गरेर अस्पताल सञ्चालन गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीले जानकारी दिनुभयो । बर्थिङ् सेन्टर, ल्याब र भिडियो एक्सरे आफूहरुसँग पहिले नै भएकाले जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको केसीले बताउनुभयो ।
उहाँले अस्पताल सञ्चालनका लागि नजिकका शान्तिपुर र हरेवा स्वास्थ्यचौकीबाट जनस्वास्थ्यको काममा प्रभाव नपर्ने गरेर स्वास्थ्योपचारका लागि जनशक्ति व्यवस्थापन गर्ने गाउँपालिका प्रमुख केसीले बताउनुभयो । उहाँले निरन्तर स्वास्थ्य शिविर, स्वास्थ्य संस्थाको सबलीकरण, जनशक्ति व्यवस्थापनसहित राष्ट्रिय अभियानहरुलाई पूरा गरिरहेको बताउँदै राज्यको ठूलो लगानी भएको संरचना उपयोगमा पनि ध्यान दिइएको बताउनुभयो ।
जिल्लामा धुर्कोट गाउँपालिकाले डेढ वर्षदेखि आधारभूत स्तरको स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिसहित थप व्यवस्थापन गरेर स्वास्थ्य बीमा मार्फत मेडिकल अधिकृतबाट स्वास्थ्योपचार, फार्मेसी, ल्याब, भिडियो एक्सरेसहितको सेवा प्रवाह गरिरहेको धुर्कोट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिनुभयो ।
त्यस्तै गुल्मीदरवारमा मेडिकल अधिकृत, फार्मेसी, ल्याब टेक्निसियन, स्टाफ नर्स, हेल्थ असिस्टेण्ट, अहेब र अनमी गरेर १४ जना जनशक्तिको व्यावस्थापन गरेर आधारभूत अस्पताल सञ्चालन गरिएको छ । अस्पतालबाट दैनिक बिरामी जाँच, भिडियो एक्सरे, ल्याब, फार्मेसी, २४ घण्टे बर्थिङ् सेन्टर र सुरक्षित गर्भपतन लगायतका सेवा प्रदान गरिएको गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताउनुभयो ।