• २४ असोज २०८२, शुक्रबार

नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा आज हुँदै

blog

ओस्लो, असोज २४ गते । विश्वकै सबैभन्दा प्रतिष्ठित तर प्रायः अप्रत्याशित पुरस्कार मध्ये एक मानिने नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा आज (शुक्रबार) नर्वेजियन नोबेल समितिले गर्दैछ ।

विज्ञहरूका अनुसार समितिले सामान्यतया विश्व शान्तिको स्थायित्व, अन्तर्राष्ट्रिय भ्रातृत्वको प्रवर्धन र ती उद्देश्यलाई सुदृढ पार्ने संस्थाको योगदानमा ध्यान केन्द्रित गर्ने परम्परा राख्दै आएको छ । यस वर्ष पनि सम्भावित विजेताको अनुमान र अड्कलबाजी तीव्र बनेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुरस्कार मिल्ने सम्भावना केहीले औँल्याए पनि लामो समयदेखि नोबेल अवार्डका पर्यवेक्षकले उहाँको सम्भावना न्यून रहेको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार विदेशी नीतिमा उहाँले देखाउनुभएको उल्लेखनीय हस्तक्षेप र त्यसको श्रेय लिन गरेको प्रयासका बाबजुद पनि पुरस्कार प्राप्त गर्ने सम्भावना कम छ ।

शान्ति अनुसन्धान संस्थान ओस्लोद्वारा सम्भावित विजेताको रूपमा उद्धृत नाममा सुडानको इमर्जेन्सी रेसपोन्स रुम (देशको गृहयुद्धमा मानवतावादी सहयोगको मेरुदण्ड बनेको समुदाय) आधारित नेटवर्क, अन्तर्राष्ट्रिय न्याय अदालत (आइसिजे) र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)का साथै कमिटी टु प्रोटेक्ट जर्नालिस्ट छन् । 

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट अमेरिकास्थित गैर-नाफामुखी सङ्गठन हो, जसले प्रेस स्वतन्त्रताको संरक्षण र कर्तव्यपालनका क्रममा ज्यान गुमाएका पत्रकारको अभिलेख तयार गर्ने कार्य गर्दै आएको छ । गत वर्षको नोबेल शान्ति पुरस्कार जापानको ‘निहोन हिडान्क्यो’ संस्थालाई प्रदान गरिएको थियो । यो संस्था हिरोशिमा र नागासाकीमा भएको आणविक विस्फोटबाट बचेका व्यक्तिद्वारा स्थापन गरिएको आन्दोलन हो, जसले दशकौँदेखि आणविक हतियारको प्रयोगविरुद्ध अन्तर्राष्ट्रिय निषेध कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ ।

नोबेल पुरस्कारमध्ये शान्ति पुरस्कार मात्रै नर्वेको राजधानी ओस्लोमा प्रदान गरिन्छ भने बाँकी चार पुरस्कार-चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्य-यसै हप्ता स्विडेनको राजधानी स्टकहोममा घोषणा भइसकेका छन् । सोमबार चिकित्सा, मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यका विजेता घोषणा गरिएका हुन् । अब बाँकी अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा आगामी सोमबार हुने अपेक्षा गरिएको छ । रासस/एपी