रामकृष्ण बोहरा
बागलुङ, असोज २४ गते । राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले बजार क्षेत्रलाई उपभोक्तामय बनाउन बागलुङ बजारको माझमा पर्ने ‘गोदाम घर’ भनेर चिनिने कृषि सामग्री संस्थानको जग्गामा हाटबजार स्थापना गर्न माग गरेको छ ।
गोदाम घरमा अहिले यहाँका एक व्यवसायीले मार्बल पसल सञ्चालन गर्नुभएको छ । बागलुङ नगरपालिकासहित छिमेकी पालिकाले कृषिउपज किनबेचको स्थान अभावले घरदैलो घुमाउनुपर्ने र नगरपालिकाको निगरानीमा परी कृषकले दुःख पाउनुपर्ने अवस्था सिर्जना भएकाले हाटबजार आवश्यकता रहेको मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार सेवा र वस्तुको उपभोग गर्ने उपभोक्ता वर्गको लागि हाटबजारको व्यवस्थापनमा नगरपालिकाको पहिलो दायित्व भएकाले गोदाम घरमा हाटबजार स्थापना गर्न नगरपालिकासमक्ष उपभोक्ता मञ्चले मागपत्र बुझाएको छ ।
हाटबजारको व्यवस्थापनबाट उपभोक्ता वर्गले प्रत्यक्ष उत्पादन गर्ने कृषकसँग ताजा वस्तु खरिदगरी उचित मूल्यमा उपभोग गर्न पाउने मञ्चले मागपत्रमा उल्लेख गरेको छ । नगरपालिकाले बजारको मध्यभागमा पर्ने गोदामघरमै हाटबजार स्थापना गर्ने सुन्नमा आएको भन्दै मञ्चले सोही ठाउँ उपयुक्त भएको बताएको हो ।
मञ्चले मासुजन्य पदार्थका लागि जनावर बध गर्नुअघि स्वास्थ्य परीक्षण गरेर मात्र बध गर्न अनुरोध गरेको छ । बजारमा उपभोक्ता हितविपरित स्वास्थ्य परीक्षण नगरी पशुपंक्षी बधगरी बिक्री गरेको पाइएकाले माछा, कुखुरा, राँगा, भैसी, बंगुरको बध गर्नुअघि स्वास्थ्य परीक्षण गर्न नगरपालिकासमक्ष माग गरिएको मञ्चका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यसअघि बागलुङ नगरपालिका – ३ गुठीमा कृषि हाट तथा थोक बजार सञ्चालनमा आएको थियो । कृषि ज्ञान केन्द्र, नगरपालिका र उद्योग वाणिज्य संघको समन्वयमा हाट तथा थोक बजार व्यवस्थापन समितिले हाट तथा थोक बजार सञ्चालनमा ल्याएको थियो ।
हरेक शनिबार हाटबजार र अन्य दिन थोकबजार सञ्चालनमा आउनेगरी निवर्तमान नगरप्रमुख जनकराज पौडेलको पालामा सञ्चालनमा ल्याएको हाट तथा थोकबजार अहिले भने बन्दछ । नगरपालिकाले जग्गाको व्यहोर्नेगरी दुई हजार वर्गफिटमा १० कक्ष रहनेगरी पाँच वर्षको लागि जग्गा भाडामा लिएर टहरा बनाइएको थियो ।