सलिम मियाँ
बिजुवार, जेठ १५ गते । १८ औँ गणतन्त्र दिवसको अवसरमा प्युठानमा प्रभातफेरी, सरसफाइ, सम्मान तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विविध कार्यक्रम गरिएको छ ।
जिल्ला समारोह समितिको आयोजनामा खलङ्गामा प्रभातफेरी निकालिएको थियो । महेन्द्र माविबाट सुरु भएको र्याली बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको सभाहलमा सभामा परिणत भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, जिल्ला समन्वय समिति प्रमुख धरमबहादुर जि.सी., मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का, सुरक्षानिकाय प्रमुख, स्थानीय प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता थियो ।
गौमुखी गाउँपालिकाले उत्कृष्ट कर्मचारी, जनप्रतिनिधि, कृषक र शिक्षकलाई सम्मान गर्दै सरसफाइ कार्यक्रमसमेत सञ्चालन गर्यो । प्युठान उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाका नौवटै बजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको अध्यक्ष सन्देश आचार्यले जानकारी दिनुभयो ।
यस्तै, माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० जिल्ला समितिले प्युठान अस्पताल परिसरमा सरसफाइ गरेको छ भने नेकपा (एमाले) प्यूठानले अपाङ्गता भएका बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरेको छ। खलङ्गास्थित अपाङ्गता आवास गृहमा एमाले अध्यक्ष विजय बिराज विष्टको नेतृत्वमा सामग्री वितरण गरिएको हो ।
२०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकद्वारा राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको ऐतिहासिक दिनको स्मरणमा गणतन्त्र दिवस मनाउने गरिन्छ।