• १७ जेठ २०८२, शनिबार

विपद् व्यवस्थापनको पूर्व तयारी गर्दै उदयपुर

blog

विपदको पूर्व तयारीका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठक । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, जेठ १५ गते । मनसुनजन्य प्रकोपबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण तथा राहत र उद्धार जस्ता कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न उदयपुरका सरोकारवला निकायहरुले पूर्व तयारीका साथ ऐक्यबद्धता जाहेर गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपदको पूर्व तयारी, राहत, प्रतिकार्य र समन्वयबारे विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै ऐक्यबद्धता जनाएका हुन् । 

यस वर्ष मनसुनजन्य प्रकोपले ठूलो प्रभाव पार्ने भन्ने मौसमविदहरुबाट आएको कुराहरुलाई मनन गर्दै बाढी, पहिरो, डुबान, सडक अवरोध जस्ता सम्भावित घटनाका लागि दमकल, एम्बुलेन्स, स्काभेटर, डोजर लगायतका साधनहरूको मर्मत गरी तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी लुईटेलले बताउनुभयो । 

सरकारी तथा गैरसरकारी संघसंस्था पत्रकार लगायत सबैलाई समन्वयमा रहेर सचेतनामूलक कार्यक्रम सञ्चालन, पूर्वतयारी तथा प्रतिकार्यमा जुट्न अनुरोध गरिएको छ । साथै सम्भावित जोखिम नियन्त्रणका लागि तारजाली, बोरा खरिद गर्न पालिकाहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । सुरक्षा निकाय, सम्बन्धित कार्यालय तथा संघसंस्थाहरूसँगको समन्वयमा कृत्रिम घटना अभ्यास गर्ने तयारी गरिएको छ ।

यसैगरी जिल्लाको कटारी नगरपालिका वडा नं ३ ताराघारीस्थित बाल सुधारगृह निर्माणका लागि प्रस्तावित जग्गा विपद व्यवस्थापनका लागि आवश्यक नपर्ने भनि स्थानीय विपद् व्यवस्थापन समिति र अदालतको पत्रका आधारमा जिल्ला अदालतमा सिफारिस गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले बताउनुभयो ।

बैठकले प्रस्तावित “जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२“ र “आपत्कालीन कार्ययोजना, २०८२“ लाई परिमार्जन सहित पारित गर्दै विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड अनुसार कटारी–१ का जयराम थापाको मृत्युमा उहाँका परिवारलाई दुई लाख रुपैयाँ राहत रकम वितरण गर्न स्वीकृती गरेको छ । 


पशुपन्छी सम्बन्धी क्षतिको राहत वितरण, बेलका नगरपालिकाको विपद् रोकथामका लागि सम्बन्ति निकायहरुमा सिफारिस गर्ने, स्थानीय तहहरूलाई तयारी योजनाको निर्देशन लगायतका निर्णय हरु गरी उदयपुरमा विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटन सवैमा अनुरोध गरिएको प्रजिअ लुइटेलले बताउनुभयो ।