सिराज खान
नेपालगन्ज, जेठ १५ गते । लागु औषधकै कारण पटकपटक विवादमा आउने गरेको तथा हुलहुज्जत र वादविवाद हुने गरेको बाँकेको डुडुवामा रहेको जयेन्दु बालसुधार गृहका बालबन्दीलाई लागु औषधविरुद्ध अभिमुखीकरण गरिएको छ ।
होप टेड्रिङ्ग एन्ड रिसर्च सेन्टर, एडभोकेसी फोरम नेपाल, जयेन्दु बालसुधार गृह, जिल्ला प्रहरी कार्यालय बाँके समेतको संयुक्त आयोजनामा जयेन्दु बाल सुधार गृह आसमानपुर कानुनी विवादमा परेका बालकहरूका लागि लागु औषध विरुद्ध अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा होप टेड्रिङ्ग एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा पूर्व प्रहरी नायब उपरीक्षक राजन कुमार गौतम, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतम, जिल्ला प्रहरी कार्यालय बाँके महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रहरी निरीक्षक शिवा थापा, बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगर, अधिवक्ता सुरेशकुमार गौतम लगायतले लागु औषध विरुद्धका विभिन्न सवाल र कानूनी पाटोमा सहजीकरण गर्नुभयो ।
सय बढी बालबन्दीहरूको उपस्थितिमा गरिएको सो अभिमुखीकरणमा बन्दी बालकहरूले लागु औषधको प्रयोग नगर्ने र बालसुधार गृहलाई लागु औषध मुक्त गृहको रूपमा विकास गर्न आफ्नो सामुहिक प्रतिबद्धता जनाएको एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक रहेका अधिवक्ता बसन्त गौतमले बताउनुभयो । उहाँले पछिल्लो समय बालसुधार गृहमा समेत लागु औषध छिर्ने गरेको र यसले बालकहरूको आचरण सुधार्ने भन्दा पनि अपराध गर्न उत्प्रेरित गरि विभिन्न हिंसात्मक क्रियाकलापहरू हुने गरेको सुनिएको जनाउँदै सोही कारणले अभिमुखीकरण कार्यक्रम गरिएको बताउनुभयो ।
लागु औषधको सेवनले व्यक्तिको व्यक्तित्व समाप्त पार्ने मात्रै नभई यसले विभिन्न अपराधिक क्रियाकलाप निम्याउने भएकाले यसको रोकथामका लागि बालकहरू आफैँ जागरुक हुनु पर्ने होप टेड्रिङ्ग एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा पूर्व प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले बताउनुभयो । उहाँले बालकहरुले लागु औषधको कुलतबाट आफू र आफ्नो सम्पर्कमा रहेका सबैलाई जोगाउनुपर्नेमा जोड दिनुभयो ।
बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा गत केही वर्ष यता आएर समय समयमा बालबन्दीहरूबिच विवाद, कुटाकुट र हानाहान हुँदै आएको छ । विवादको मुख्य कारण सुधार गृहमा लागु औषध पुग्नुनै रहेको बताइएको छ ।