प्रेम अधिकारी
पशुपतिनगर(इलाम), जेठ १५ गते । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा दुई दिने अन्तर्राट्रिय साहित्य सम्मेलन सुरु भएको छ । सूर्योदय नगरपालिका नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको आयोजनामा सुरु भएको सम्मेलनमा नेपाल तथा भारतका साहित्यकारको सहभागितामा सुरु भएको हो ।
सम्मेलनको उद्घाटन संविधानसभा सदस्य सूर्यवाला राईले गर्नुभयो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती भूपाल राईसहितका साहित्यकारको सहभागीता रहेको छ । सम्मेलनको पहिलो दिन आज स्थानीय साहित्यकारले कविता वाचन गर्ने कार्यक्रम छ । आजै ‘दिगो विकासका लक्ष्यलाई स्थानीयकरण’ शीर्षकमा बहस कार्यक्रम आयोजना गरिएको छ । बहसमा उक्त विषयका जानकार सरदचन्द्र न्याैपाने र नगर प्रमुख रणबहादुर राईबिच हुने छ ।
कार्यक्रममा भोली दोस्रो दिन भारतको सिक्किमm दार्जिलिङ, मिमिर तथा काठमाडांै, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर र ताप्लेजुङका साहित्यकारले कविता वाचन गर्ने कार्यक्रम रहेको नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानका सदस्य सचिव योगनिधी भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा भोली ‘सूर्योदयको साहित्यको विकास र राष्ट्रिय साहित्य सम्बन्ध’ शीर्षकमा बहस हुने छ । डाक्टर अमर न्यौपाने, प्राज्ञ राजन मुकारुङ र साहित्यकार कुलप्रसाद ढकालबिच उक्त बहस कार्यक्रम हुने छ । नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानका अध्यक्ष तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले पश्चिमी संस्कृतिको आक्रमणका कारण नेपाली भाषा, संस्कृति अतिक्रमणमा परेको बेला नेपाली कला, संस्कार र संस्कृति संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रम सम्पन्न गर्नका लागि नगरले वार्षिक स्वीकृत कार्यक्रममै छ लाख रुपियाँ विनियोजन गरेको छ । नगर प्रमुख रण बहादुर राईले साहित्यको माध्यमबाट कला संस्कृति र भाषाको विकासका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा साहित्यकार प्रकाश थाम्सुहाङले इलाम पर्यटकका लागि जति सुन्दर छ, साहित्य, कला, संस्कृतिमा पनि त्यतिनै सुन्दर रहेको बताउनुभयो । कार्यक्रममा भारतका साहित्यकार सविता सङ्कल्प, नरेन्द्र गोर्खा, डिएल प्रधान, प्रविन खालिङ, कमल तामाङ लगायतको सहभागिता रहने छ ।
यसैबिच इलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारमा ‘थुम्के साहित्य महोत्सव’ शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त थुम्के महोत्सवमा साहित्य, चिया र दुधका समस्या समाधानका विषयमा बहस कार्यक्रम राखिएको छ । कार्यक्रममा साहित्यकार डा. नवराज लम्साल लगायतको सहभागिता रहेको आयोजक समुहका महेश आचार्यले जानकारी दिनुभयो ।