• १५ असार २०८१, शनिबार

अस्थायी बाँसको पुल तर्न अनधिकृत शुल्क

blog

जोखिमयुक्त बाँसको पुल तरेवापत शुल्क तिर्दै मोटरसाइकल यात्री । तस्बिर – यादवराज पुरी

यादवराज पुरी 

रौतहट, जेठ २९ गते । निर्माण कम्पनीको लापरवाहीको कारण पक्की पुल निर्माणकार्य समयमा सम्पन्न नहुँदा रौतहटमा नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता छ । जिल्ला सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने टुकुलियाघाटको पुल नबनेपछि सर्वसाधारणले शुल्क तिरेर बाँसको अस्थायी पुल र डुङ्गा प्रयोग गर्न बाध्य छन् । 

वर्षायाममा चल्ने डुङ्गा चढ्दा वा अन्य समयमा बाँसको अस्थायी पुल प्रयोग गर्दा सर्वसाधारणले ठूलो जोखिम बहन गरेका छन् । २०७५ भदौ ९ मा सोही स्थानमा डुङ्गा दुर्घटना हुँदा ५ जना स्थानीय डुबेर मरेका थिए । हाल उक्त नदी पार गर्न नदीको दुई किनारमा एक÷एक वटा डुङ्गा राखी डुङ्गामाथि बनाइएको फल्याक र बाँसको अस्थायी पुल पनि जोखिमयुक्त छ ।  

पुल भएर आवतजावत गर्दा पैदलयात्रीले १०, साइकल यात्रीले २० देखि २५ र मोटरसाइकल यात्रीले ५० रुपियाँ शुल्क तिर्नुपर्ने बाध्यता रहेको इशनाथ नगरपालिका–५ का राहुल साहले बताउनुभयो । उहाँका अनुसार डुङ्गा प्रयोग गर्दा पनि सोही बमोजिमको शुल्क तिर्छन् सर्वसाधारणले । 

पुल तर्ने सर्वसाधारणसँग शुल्क लिएका व्यक्तिले बाँसको पुल मर्मत गर्न र रेखदेख गर्न खर्च लाग्ने भएकाले पैसा उठाउनुपरेको प्रतिक्रिया दिनुभयो । यसरी पुल तरेवापत उठाइएको रकमको बारे इशनाथ नगरपालिका बेखबर रहेको पालिका प्रवक्ता अर्जुन सिंह बताउनुहुन्छ ।

आठ वर्षअघि पुल निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सन्ले हालसम्म आधा काम पनि सम्पन्न नगरेको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगाप्रसाद बताउनुहुन्छ । उहाँका अनुसार पप्पु कन्स्ट्रक्सन्ले १४ करोड ९३ लाख रुपियाँमा ठेक्का सकार गरेको लालबकैया टिकुलिया पुल सम्झौताअनुसार २०७४ असार २५ गतेसम्ममा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्नेमा ४ वर्षमा  पनि ५० प्रतिशत मात्र काम हुँदा सो कन्स्ट्रक्सन् कारवाहीमा परेको छ । 

जोखिमपूर्ण बाँसको अस्थायी पुल र डुङ्गा यात्रीको समस्यालाई दृष्टिगत गरी टिकुलियाघाटको पुल निर्माणलाई तीव्रता दिन सम्बन्धित निकायलाई घचघच्याउने काम भइरहेको गौर नगरपालिकाका प्रमुख शम्भु साहले बताउनुभयो ।