• १५ जेठ २०८२, बिहिबार

दुई सय ५३ जना किसानलाई विद्युत् महसुल निःशुल्क

blog

बिद्युत् प्राधिकरण गौर वितरण केन्द्रलाई कृषि बिद्युत् महसुल बापतको रकमको चेक हस्तान्तर गर्दै राजपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर । तस्बिर: गोरखापत्र

प्रवीण कुमार शर्मा 

चन्द्रपुर (रौतहट), जेठ १४ गते । रौतहटको राजपुर  नगरपालिकाले नगर भित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको विद्युत् महसुल निःशुल्क गरेको छ । किसानले प्रयोग गरेको महसुल नगरपालिकाले तिरेर किसानलाई निःशुल्क गरेको हो । 

कूल दुई सय ५३  किसानले प्रयोग गरेका कृषि महसुल बापतको ६  लाख ९२ हजार ८२२ रुपियाँ नगरपालिकाले विद्युत् प्राधिकरणलाई बुझाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले मङ्गलवार  विद्युत् प्राधिकरण गौर  वितरण केन्द्रका  प्रमुख राम अयोध्या रायलाई चेक हस्तान्तरण गर्नुभयो । राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर राजिक आलमले   किसानलाई कृषि पेसामा आकर्षित गर्ने उद्देश्यले २०८१ फाल्गुन महिना सम्मको  बक्यौता  कृषि विद्युत् महसुल तिरेको बताउनुभयो । राजपुरका किसानले विद्युत् ‘हुकिङ’ नगरुन् साथै  भूमिगत सिचाइको माध्यमबाट  कृषि उत्पादन बढाउने  उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको  नगर प्रमुख डाक्टर आलमले जानकारी  दिनु भयो  । नगर प्रमुख आलमले भन्नु भयो ,“ यसबाट किसानलाई प्रत्यक्ष लाभ पुगेको अनुभूति गरेका छौँ, आगामी दिनमा यो  कार्यले निरन्तरता पाउने छ ।

कृषि बिद्युत् महसुल नगरपालिकाले तिरी दिए पछि आगामी दिनमा नगरभित्रका बाँकी किसान पनि  सिचाइका  लागि कृषि मिटर प्रयोग गर्ने सम्भावना बढेर जाने नगरपालिकाले जनाएको छ   ।  भूमिगत सिँचाइको सहयोगमा खेतीपाती गर्ने गरेको बेलामा नगरपालिकाले  विद्युत् महसुल तिरेर राहत दिएको राजपुर–१ का किसान राम एकबाल राय यादवले बताउनु भयो  ।