नवलपुर, जेठ १२ गते । “जब हिउँद लाग्छ, कसरी पिउने पानीको जोहो गर्ने भन्ने चिन्ताले हामीलाई पिरोलिरहन्छ । यो गाउँमा पानी ल्याउन कसैले पनि सकेको छैन । मुहानमा विवाद भएर पानी नआएको भन्ने कुरा सुनिन्छ, पानी त ल्याउन दिनुपर्ने हो, के अब हामी पानी नपाएरै बस्नुपर्ने हो त ?’’ यो गुनासो हो, नवलपुरको मध्यविन्दु नगरपालिका–११ की दुर्गा शर्माको ।
मध्यविन्दु–११ र १४ मा अहिले पानी मुहानको विवाद छ । भूगोलमा आफूहरूभन्दा माथि रहेको १४ नम्बर वडाले पिउने पानी नदिँदा ११ नम्बर वडाका बासिन्दाले खानेपानीको समस्या भोगिरहेका छन् । वडा नम्बर ११ को द्वारदह, दमार र स्कुलडाँडीका चार सय घरधुरीका दुई हजार पाँच सय जनाका लागि पिउने पानीको व्यवस्था गर्न झन्डै सात करोड रुपियाँ लागतको केन्द्रीय योजना पनि परेको थियो ।
त्यही बजेटबाट खानेपानीको भवन बनाइयो, पाइप बिछ्याइयो तर जलुके गेजाटारमा रहेको मुहानसँग पाइप जोड्न १५ सय मिटर मात्र बाँकी रहँदा १४ नम्बर वडाका बासिन्दाले पानी नदिएको द्वारदह, दमार, स्कुलडाँडी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष मीनप्रसाद अर्यालले बताउनुभयो । अर्यालका अनुसार १४ नम्बर वडाले आफूहरूलाई सिँचाइका लागि नपुग्ने भन्दै ११ नम्बर वडाका बासिन्दालाई पिउने पानी नदिएको हो ।
नर्वे सरकारको प्राविधिक सहयोग रहेको सो खानेपानी आयोजना सुरु गरेको पनि तीन वर्ष पूरा भइसकेको छ । पानी मुहानको विवादका कारण काम हुन नसक्दा बजेट खेर जाने अवस्थामा पुगेको अर्यालले बताउनुभयो ।
वडा नम्बर ११ का स्थानीय ओमबहादुर मल्ल ठकुरीले वडा नम्बर १४ का बासिन्दाले तल्लो बस्तीलाई पानी दिँदा सिँचाइमा समस्या हुने भन्दै पानी दिन नमानेको बताउनुभयो । समस्या समाधानका लागि नगरपालिका र वडाले अनेक प्रयास गर्दा पनि सफल नभएको ठकुरी बताउनुहुन्छ ।
वडा नम्बर ११ का वडाध्यक्ष महेश्वर भुसालले अनेक प्रयास गर्दा पनि मुहानबाट पानी ल्याउन नसकिएको बताउनुभयो । वडा नम्बर १४ का अध्यक्ष मीनबहादुर दर्लामी छलफलका लागि बोलाउँदा पनि आफ्नो पालिकाका उपभोक्ता नआएको बताउनुहुन्छ । अध्यक्ष दर्लामीले भन्नुभयो, “छलफलका लागि पटक पटकको प्रयास पनि सफल हुन सकेन । बरु भिडन्तको अवस्था हुन थाल्यो ।”
अहिले पानी दिइयो भने सधैँभरिलाई दिनु पर्छ भन्ने परम्परागत सोचका कारण दुई वडाबिच विवाद भएको वडा नम्बर १३ का अध्यक्ष अर्जुनप्रसाद पङ्गेनीले बताउनुभयो । पानीको पर्याप्त स्रोत भए पनि प्राकृतिक स्रोतमाथि आफ्नो बिर्ता सम्झने काम भएको पङ्गेनीले बताउनुभयो । नगरपालिका भने अझै पनि छलफलबाटै निकास निकाल्न सकिन्छ कि भनेर लागिरहेको मध्यविन्दुका नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।